मुख्य समाचार | राजनीति |

राप्रपा अध्यक्षमा डा. लोहनीको समर्थन लिङ्देनलाई

काठमाडौँ, मङ्सिर १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले महाधिवेशनबाट पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ ।

डा. लोहनीले पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शम्शेर जबरालाई अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्दै राजेन्द्र लिङ्देनको पक्षमा उभिएको बताउनुभएको छ ।

‘म अन्य दुई मेरा मित्र अध्यक्षलाई पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु’, उहाँले भन्नुभएको छ । लोहनीले आफ्नो अनुरोध स्वीकार गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

डा. लोहनीले अहिलेको परिस्थितिमा राप्रपामा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्नेमा जोड दिनुभएको छ । ‘राप्रपाको नयाँ नेतृत्वमा राप्रपाका पूर्वमहामन्त्री तथा राजेन्द्र लिङ्देनको पक्षमा म उभिएको छु’, उहाँले भन्नुभएको छ, ‘आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो विश्वास हो ।’

लिङ्देनलाई समर्थन गर्दै सार्वजनिक वक्तव्यमा लोहनीले विगत दुई वर्षमा अध्यक्षको हैसियतमा काम गर्दा सहयोग र सद्भाव राख्ने सँगै आलोचना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।