मुख्य समाचार | राजनीति |

करार शिक्षक स्थायी गर्ने निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौँ, मङ्सिर २३ गते । त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने विषयमा गरेको निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् । बिहीबार बसेको संयु्रक्त विद्यार्थी संगठनको बैठकले अन्तरिक प्रतिस्पर्धाका नाममा गरिने यो प्रक्रियाले विश्वविद्यालयका गुणस्तर खस्किने भन्दै यस्तो माग गरेको हो ।

‘त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गर्दछौं’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन शसक्त प्रतिरोधमा उत्रने चेतावनी दिन चाहन्छौं ।’

विद्यार्थी संगठनले यो विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गरेको छ । विद्यार्थी आन्दोलनलाई एक्यवद्धता जनाउन संयुक्त विज्ञप्तिमा प्रदर्शनको तयारी गरेको जानकारी गराइएको छ । शुक्रबार दिउँसो कीर्तिपुरमा प्रदर्शनसहित सभा गर्ने निर्णय बैठकले गरेको हो ।

विद्यार्थी संगठनले नर्सिङको भर्ना तत्काल खुलाउन माग गरेका छन् । सँगै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कबाहेक थप शुल्क उठाउने मेडिकल कलेजलाई कारबाहीको माग गरिएको छ ।

संयुक्त विज्ञप्तिमा नेविसंघ अध्यक्ष, राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, समाजवादी विद्यार्थी युनियन, अध्यक्ष वसिम आलम, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, प्रकाश शाही र अखिल छैठौंका देवेन्द्र कुवरले हस्ताक्षर गर्नुभएको छ ।