मुख्य समाचार |

संसद् अवरुद्ध औचित्यहीन : नेपाल

सचिन पोख्रेल

इटहरी, मङ्सिर २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विकासका योजना निर्माण र सञ्चालनका क्रममा सबै ठाउँमा सेटिङले काम बिगारेको बताउनुभएको छ । झाँगिँदै गएको भ्रष्टाचारले सबै क्षेत्रमा समस्या सिर्जना भएको उल्लेख गर्दै उहाँले भ्रष्टाचारको प्रवृत्तिलाई समाप्त नगर्दासम्म विकास र आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभयो । इटहरी उपमहानगरपालिका, नेपाल नेत्र ज्योति सङ्घ तथा सेवा फाउन्डेसनको सक्रियतामा इटहरी–१७ मा निर्माण गरिने इटहरी आँखा अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा मिहिनेत गरेर कमाउनेभन्दा लुटेर खाने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

विकास निर्माणसँग जोडिएका कुनै पनि योजना छनोट र कार्यान्वयन गर्दा दीर्घकालीन सोच राख्न आवश्यक रहेको भन्दै उहाँले ५० देखि सय वर्षसम्म प्रयोग गर्न सकिने गरी योजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका हरेक स्थानमा सञ्चालन भएका आँखा अस्पतालले स्थानीय सर्वसाधारणका अतिरिक्त सीमावर्ती भारतीय नागरिकलाई प्रभावकारी सेवा मात्र नदिई आसपासका बस्ती विकास र स्वास्थ्य पर्यटन प्रवद्र्धनमा पनि योगदान दिँदै आएको बताउनुभयो ।

नेपाल नेत्र ज्योति सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा. चेतराज पन्तले नेपालको न्यूनतम छ सय स्थानीय तहमा आँखा उपचार केन्द्रदेखि अस्पतालसम्मका संरचना निर्माण गर्ने योजना रहेको बताउनुभयो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आँखा अस्पतालको निर्माणले इटहरी क्षेत्र मात्र नभएर सीमावर्ती भारतीय नागरिकले समेत सेवा लिन सक्ने बताउनुभयो ।

अस्पताल निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दृष्टिविहीन उद्योगी अशोक बगडियाले निःशुल्क उपलब्ध गराउनुभएको १० कट्ठा जग्गामा निर्माण गरिने आँखा अस्पतालको लागत २५ करोड रुपियाँ
अनुमान गरिएको छ ।

यसैबीच स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री नेपालले प्रतिगमनविरुद्ध गठित गठबन्धन सशक्त रूपमा अघि बढ्ने बताउनुभयो । उहाँले मुलुकमा दुई किसिमको विचारका गठबन्धन रहेको चर्चा गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि वामपन्थी तथा लोकतान्त्रिक गठबन्धन एवं प्रतिगमनकारी र दक्षिणपन्थीको गठबन्धन रहेको बताउनुभयो । नेकपा एमालेले संसद् अवरुद्ध गरेका विषयमा सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै उहाँले कुनै पनि दलले संसद् अवरुद्ध गर्नुको औचित्य नरहेको स्पष्ट गर्नुभयो ।