काँग्रेस महाधिवेशन मतपरिणाम : राजीनामा दिने रक्षामन्त्री रिजालको घोषणा
काठमाडौँ, पुस १ गते । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा चुनावी मैदानमा रहनुभएका मन्त्री रिजालले प्रारम्भिक मतपरिणामलाई दृष्टिगत गर्दै राजीनामाको घोषणा गर्नुभएको हो ।
फेसबुकमा स्टाटस लेख्दै उहाँले मतगणनाको परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेस गर्ने उल्लेख गर्नुभएको हाे ।
‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु’, मन्त्री रिजालले फेसबुकमा लेख्नुभएको छ, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’
काँग्रेस महामन्त्रीको मतपरिणाम अनुसार रिजाल पाँचौं स्थानमा हुनुहुन्छ । महामन्त्रीका उम्मेदवार गगन थापाले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको छ भने विश्वप्रकाश शर्मा दोस्रो स्थानमा हुनुहुन्छ । प्रदीप पौडेल तेस्रो स्थानमा हुनुहुन्छ भने डा. प्रकाशशरण महत चौथो स्थानमा रहनुभएको छ ।