मिलन पाण्डेलाई रवीन्द्र मिश्रको कारबाही : साधारण सदस्यसमेत नरहने
काठमाडौँ, पुस ६ गते । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टी संयोजक मिलन पाण्डेलाई कारबाही गर्नुभएको छ । पार्टीलाई गम्भीर क्षति पुर्याउने काम गरेको भन्दै अध्यक्ष मिश्रले पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुभएको हो।
मङ्गलबार बसेको कार्यसम्पादन समिति बैठकले संयोजक पाण्डेलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । पार्टीको नाम, लेटरहेड, छाप प्रयोग गरेमा थप कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।
‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझ पार्टीको विधान २०७८ को भाग ७ (३.१.१) को अधिकार प्रयोग गर्दै तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ’, मिश्रले पाण्डेलाई पठाएको पत्रमा भनिएको छ, ‘तपार्ईँंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइने जानकारी पनि गराइन्छ ।’
मङ्गलबार मात्र पाण्डे पक्षले सामानान्तर केन्द्रीय समिति गठन गरेको छ । वैकल्पिक राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने भन्दै अगाडि बढेको विवेकशील पार्टीमा वैचारिक विवाद चर्कदै गएको छ । यसले पार्टी फुट नजिक पुगेको छ ।