माओवादी राष्ट्रिय सम्मेलन : बहुपदमा नेतृत्वको प्रतिस्पर्धा
काठमाडौं, पुस ८ गते । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । माओवादी केन्द्रमा विगतदेखि नै बहुपदीय व्यवस्थाको विषय उठे पनि अध्यक्षबाहेकका पदमा प्रभावकारी अभ्यास भएको छैन । राष्ट्रिय सम्मेलन अगाडि माओवादीले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरेर पाँच पदाधिकारी रहने गरी पार्टी विधान अर्थात् अन्तरिम मस्यौदामा प्रस्ताव अघि बढाएको छ ।
राष्ट्रिय सम्मेलन सुरु हुनु केही दिन अगाडिदेखि विभिन्न विषयमा चर्चा हुन थालेको छ । पार्टी बहुपदीय पद्धतिमा प्रवेश गर्दा कार्यकारी भूमिकामा नेताहरु को-को अगाडि बढ्छन् भनेर बहस चर्किएको छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरता माओवादीमा निश्चित देखिन्छ । अध्यक्षपछि कार्यकारी मानिएको महासचिव पदमा युवा नेताहरुले दाबी गर्दै आउनुभएको छ । पार्टीलाई जीवन्त बनाउन युवा नेतृत्वको खाँचो देखिएको भन्दै कार्यकर्ताले आवाज उठाइरहेका बेला महासचिव पदमा नेताहरुको आकर्षण बढ्नु स्वाभाविक देखिन्छ । नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुनले महासचिवमा दाबी प्रस्तुत गर्दै आउनुभएको छ । माओवादी केन्द्रको नेतृत्वलाई बहुपदीय पद्धतिबाट अगाडि बढाउने तयारी र भावी नेतृत्व चयनकाे फरक अभ्यासले पार्ने प्रभावको विषयमा विभिन्न विश्लेषण भइराखेका छन् । यी र यिनै विषयमा माओवादी विधान परिमार्जन उपसमिति सदस्य देव गुरुङ, राजनीतिक विश्लेषकद्वय झलक सुवेदी र मुमाराम खनालसँगको संवाद :
माओवादी माओवादी जस्तै बन्नुपर्छ : झलक सुवेदी
कम्युनिष्ट पार्टीमा महासचिव निर्णायक हुने परम्परा रहे पनि एमालेले २०६५ सालमा बहुपदीय पद्धतिको अभ्यास सुरु गर्यो । माओवादीले पनि २०६७/६८ तिरै बहुपदमा जाने निर्णय गर्यो । तर व्यवहारमा कार्यान्वयन नभएको राजनीतिक विश्लेषक झलक सुवेदी बताउनुहुन्छ । त्यत्तिबेला रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । अहिले आएर माओवादीमा बहुपदको विषय पुनः उठेको छ । ‘माओवादी सशस्त्र युद्ध अर्थात् भूमिगत राजनीतिक पृष्ठभूमि भएका कारण पनि एउटै व्यक्तिमा शक्ति केन्द्रित रहँदै आएको छ । शान्तिप्रक्रियामा पार्टी प्रवेश गरेपछि धेरैचोटीको टुटफुटसँगै पार्टीका नेता, कार्यकर्ता छरिए । यसले उत्तराधिकारी निर्माणमा पनि चुनौती थपिएको देखिन्छ’, सुवेदी भन्नुहुन्छ, ‘मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्द ‘विप्लव’, सिपी गजुरेललगायत नेताको समूह नै बाहिरिएपछि पार्टीभित्र नेतृत्वको विकल्प झनै कम भयो । ’
जनयुद्ध र शान्तिप्रक्रियाका कतिपय सन्दर्भ, समस्या पहिचान र समाधान हुन नसकेका कारण पनि पार्टी अध्यक्षमा चुनौती दिने स्थिति बन्न नसकेको उहाँको भनाइ छ । ‘यसले गर्दा खुला प्रतिस्पर्धा गर्ने, अध्यक्षलाई च्यालेन्ज गर्ने अवस्था नबनेको देखिन्छ । एकपद वा बहुपदले पार्टीको वैचारिक भिन्नतामा खासै अर्थ राख्दैन । महासचिव निर्णाय हुँदा पनि पोलिट्ब्यूरो, स्थायी समिति आफैँ पनि बहुपद जस्तो सामूहिक नेतृत्वको प्रणाली थियो । यसैलाई स्थापित गर्ने हो । जो अध्यक्ष हुन्छ, ऊ नै सर्वैसर्वा हुने अभ्यास सबै पार्टीमा छ’, सुवेदी भन्नुहुन्छ, ‘विचार फरक ल्याएर माओवादी अरु कम्युनिष्ट पार्टीभन्दा फरक हुन्छ । अन्यथा पद पाएपछि नेता हुने हो । नेता भएपछि पद टिकाइराख्ने बल हुन्छ । माओवादीले पहिचान खुल्नेगरी राजनीतिक गर्नुपर्यो । यो एमाले जस्तो हो कि ? काँग्रेस जस्तै हो ? वा माओवादी, माओवादी जस्तै हो ? पहिला यो विषय प्रष्ट हुनुपर्छ । अहिले अलमलिएको जस्तो देखिन्छ, यसो भइराखे जो नेता आए पनि केही हुँदैन । पार्टी अध्यक्षले तयार पारिरहनुभएको राजनीतिक प्रतिवेदनले मुख्य कुरा बोक्छ । त्यसपछि राजनीति र सङ्गठन कस्तो हुन्छ भन्ने तय हुन्छ ।’
माओवादीमा प्रतिस्पर्धा आवश्यक छ : मुमाराम खनाल
देश संघीयतामा गएको बेला देशका राजनीतिक शक्ति पनि विकेन्द्रीकरणतर्फ उन्मुख हुनुपर्ने राजनीतिक विश्लेषक मुमाराम खनालको भनाइ छ । नेतृत्वमा दाबी गर्नु, प्रतिस्पर्धा हुनु सकारात्मक विषय भएको उहाँको भनाइ छ । ‘पार्टीको संरचनालाई बलियो बनाउने हो भने त्यो केन्द्रीकृत शक्ति विकेन्द्रीकृत गर्न बढी प्रयत्नरत हुनुपर्छ । नभए, प्रदेशस्तरको संरचना बनाएको अर्थ हुँदैन । सबै अधिकार आफैँमा राख्ने अधिनायकवादी संरचनाले आन्तरिक पार्टीको लोकतन्त्रलाई समाप्त पार्छ’, खनाल भन्नुहुन्छ ।
माओवादीमा झण्डै तीन दशकभन्दा बढी समयदेखि एउटै नेतृत्व रहिरहेकोले सम्मेलनबाट धेरै आशा गर्न नसकिएको खनालको भनाइ छ । पार्टी लोकतान्त्रिक बनाउन नसके एकथरी मान्छे मात्रै अटाउने अवस्था सिर्जना हुने खनालको विश्लेषण छ । ‘जस्तो नेता त्यस्तै मान्छे मात्रै अटाउँछन्, पार्टी प्राइभेट प्रोपर्टी जस्तो बन्छ’, खनाल भन्नुहुन्छ ।
माओवादीको राष्ट्रिय सम्मेलनले राजनीतिक एजेण्डामा निर्णय लिएर र पोलिटिकल रोडम्याप तय गर्नुपर्ने उहाँको सुझाव छ । विश्लेषक खनालले नेतृत्व परिवर्तन, पार्टीभित्र प्रतिस्पर्धाको आधारलाई बनाउनुपर्नेमा जोड दिनुभएको छ। ‘नेतृत्व परिवर्तनका लागि पार्टीभित्र प्रतिस्पर्धा हुनुपर्छ’, खनाल भन्नुहुन्छ, ‘यसो हुन नसके पार्टीमा रक्तसञ्चार प्रवाह हुँदैन । पार्टीभित्र रक्तसञ्चारका लागि प्रतिस्पर्धा आवश्यक हुन्छ । ’
‘बहुपद’ सम्मेलनबाट पारित हुनुपर्छ : देव गुरुङ
माओवादीको राष्ट्रिय सम्मेलनमा ‘बहुपद’ लाई पार्टीको विधान अर्थात् अन्तरिम मस्यौदामा प्रस्ताव गरिएको विधान परिमार्जन उपसमितिका सदस्य देव गुरुङ बताउनुहुन्छ । ‘बहुपद अन्तरिक विधान पारित गर्ने कुरा हो । काँटछाँट, थपघट गरेर यसलाई अन्तिम रुप दिन्छौँ । यसलाई सम्मेलनले अस्वीकार गर्यो भने बहुपदमा जाने कुरा भएन । सम्मेलनले स्वीकार गर्याे भने त्यही अनुसारको सङ्गठनात्मक संरचना हुन्छ’, नेता गुरुङ भन्नुहुन्छ, ‘बहुपद विगतमा पनि अभ्यास गरेकै हो । यो लागू भयो भने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरेर पाँच सदस्यीय पदाधिकारीको प्रस्ताव भएको छ । यसैगरी प्रदेशमा नौ, पालिकामा सात र वडामा पाँच जना रहने प्रस्ताव गरिएको छ ।’
अब केन्द्रमा कति बनाउने भन्ने कुराको तय सम्मेलनले गर्ने गुरुङको भनाइ छ । अहिलेको परिस्थितिमा सैद्धान्तिक तथा नीतिगत र सङ्गठनात्मक प्रश्न उठेकाले यसको हल राष्ट्रिय सम्मेलनबाट हुने उहाँको भनाइ छ । ‘विगत तीन, चार वर्षभयो पार्टी एकीकरणदेखि नै बैठक बस्न सकेको छैन, बसे पनि निर्णय भएको छैन’, गुरुङ भन्नुहुन्छ, ‘माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनले यसलाई सक्रिय गराउने काम गर्छ ।’