माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोह
काठमाडौँ, पुस ११ गते । केही समयमा नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन हुँदैछ ।
शनिबार बसेको स्थायी समितिको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको थियो । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशन उद्घाटन समारोहलाई पार्टी अध्यक्ष प्रचण्डसँगै प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्दै हुनुहुन्छ ।
महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निम्तो गरिएको छ । महाधिवेशन उद्घाटन समारोहमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगिसक्नु भएको छ भने अन्य दलका शीर्ष नेताको आगमन सुरु हुँदैछ । अन्य दलका शीर्ष नेता उपस्थित हुने बताइएको छ भने एमालेका वरिष्ठ उपाध्यक्ष वा महासचिव जाने भएका छन् ।