मुख्य समाचार |

मेलम्चीको पानी चाँडै

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १२ गते । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकामा मेलम्चीको पानी चाँडोभन्दा चाँडो ल्याउन आफूले गृहकार्य गरिरहेको बताउनुभएको छ । उहाँले मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याएर कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्ने पनि बताउनुभयो ।

नेपाल निजामती कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागीय कार्यसमितिको आठौँ अधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले विगतको सरकारको जस्तो हतारमा लतार गरेर काम गर्ने पक्षमा आफू नरहेको पनि उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका सहमहामन्त्री रहनुभएका मन्त्री चौधरीले काँग्रेस सरकारको पालामा काम हुने तर विगतका सरकारले हतारमा उद्घाटन गर्ने क्रियाकलापले विकृति र विसङ्गति नै फैलाएको बताउनुभयो ।

कर्मचारीको सहयोगमा काठमाडौँवासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको बताउनुभयो । मन्त्री चौधरीले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामती ऐनमा रहेको कर्मचारीको पेसागत हितविपरीतका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य वज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हक, हित, सुविधा र वृत्ति विकासका लागि उठाएका माग पूरा गराउन मन्त्रालय तयार रहेको बताउनुभयो ।