मुख्य समाचार | राजनीति |

युवा अहंकार र विकृतिबाट मुक्त हुनुपर्छ : माधवकुमार नेपाल

काठमाडौँ, पुस १३ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले युवा पुस्ता अहंकार र विकृतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच एकता घोषणा समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो।

‘अहंकारबाट मुक्त हुनुभएन भने विकृतिबाट मुक्त हुनुभएन भने युवाहरु अगाडि बढ्न सक्नुहुन्न’, अध्यक्ष नेपालले भन्नुभयो, ‘नसकिने कुरा केही पनि छैन । म नराम्रो सङ्गतमा पर्दिन भनेर सबै युवाले सङ्कल्प लिनुपर्छ, शपथ लिनुपर्छ ।’

अबको नेतृत्वले जनताको चाहना बुझ्नुपर्ने उहाँको भनाइ छ । समाजको विशेषता बुझेर समाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

‘समाजको विशेषता बुझेर समाजलाई प्राथमिकता दिने हो भने तपाईं सही ढंगले अगाडि बढ्नुहुन्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘जनताको पीडालाई आफ्नो पीडा ठान्नुभयो भने जनतालाई तपाईंलाई माया गर्छन् ।’

अध्यक्ष नेपालले सिंगो देश र समाजलाई डोर्याउनका निम्ति सही विचार लिनुपर्नेमा जोड दिनुभयो । नेपाली विशेषताको समाजवाद के हुन्छ भन्ने कुरामा गम्भीर बन्न सुझाव दिनुभएको छ ।

जनता लुट्ने प्रवृत्तिलाई समाप्त पार्न शासन सञ्चालन प्रणालीलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । ‘जनता लुट्ने प्रवृत्तिलाई समाप्त पार्नुपर्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यसका निम्ति हाम्रो शासन सञ्चालन प्रणालीलाई परिवर्तन गर्नुपर्छ ।’

देशको निर्माण र रुपान्तरणका निम्ति सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रको रुपान्तरणको धारणा सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ । जनचेतना अभियान र जनजागरण अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।