केन्द्रीय समितिमा खुला र समावेशी बराबर
लक्ष्मण दर्नाल
काठमाडौँ, पुस १४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मङ्गलबार बसेको स्थायी समिति बैठकमा समावेशीको क्लस्टर मिलाउने विषयमा छलफल भएको छ ।
बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ । पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेलले निर्वाचन आयोगको व्यवस्थाअनुसार पनि समावेशीलाई व्यवस्थापन गर्नुपर्ने भएकाले थप गृहकार्य गर्न लागिएको जानकारी दिनुभयो । बैठक विधान र समावेशी क्लस्टरका बारेमा छलफल गर्न बसेको र निर्वाचन आयोगको ढाँचालाई आधार मान्नुपर्ने हुन्छ भन्दै उहाँले थप्नुभयो, “क्लस्टरको निर्णय भइसकेको छैन । ५०÷५० प्रतिशत गर्ने कुरा आएको छ तर महिला ३५, दलित १५, युवा २० र मुस्लिमलाई छुट्याइएको पाँच प्रतिशत नघट्ने गरी व्यवस्थापन हुनेछ ।”
प्रस्तावमा ५० प्रतिशत प्रतिनिधित्व खुला र ५० प्रतिशत समावेशीतर्फ छुट्याइयो भने समावेशीतर्फको ५० प्रतिशतलाई सय मानेर सबैलाई समावेश गर्नुपर्ने हुन्छ । जसले गर्दा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत घट्ने सम्भावना देखिएको छ । यसैबीच स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय उपलब्ध गराउने निर्णय गरेको छ । प्रतिवेदनमाथि मङ्गलबार दिनभर विभिन्न २५ वटा समूहले छलफल गरेका छन् । छलफलबाट आएको निष्कर्षलाई बुधबार १ बजे बन्दसत्रमा समूहगत रूपमै पेस गर्ने कार्यतालिका रहेको गजुरेलले बताउनुभयो ।
समूहगत छलफललाई मङ्गलबार दिनभर समय छुट्याइएकोमा बुधबार अपराह्न १२ बजेसम्म थप गरिएको छ । माओवादी नेता नारायण दाहालले अधिकांश समूहबाट वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफलमा समर्थन जनाउँदै सुझाव राखिएको बताउनुभयो ।
बैठकमा महाधिवेशन लम्बिन सक्ने भएकाले पुस १७ गतेसम्म सम्पन्न गर्ने बारेमा पनि छलफल भएको छ । समूहबाट सुझाव आएपछि अध्यक्ष प्रचण्डले जवाफ दिनुहुने र त्यसपछि प्रस्ताव पारित गरिने बताइएको छ । प्रतिवेदन पारितपछि केन्द्रीय कमिटीका लागि नाम प्रस्ताव गर्ने र ती नामबाट पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ ।
स्थायी समिति सदस्य राम कार्कीले पूरक प्रस्तावका रूपमा फरक दस्तावेज पेस गर्नुभएको छ । उहाँको दस्तावेज पनि मङ्गलबार समूहमा वितरण गरिएको छ । दुई लाइन सङ्घर्षले पार्टीलाई जीवन्त राख्नेमा कार्कीले जोड दिनुभएको छ ।