पूर्वसांसद तामाङ थुनामा
नारायण काफ्ले/मित्र भण्डारी
काठमाडौँ, पुस १५ गते । निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पूर्वसांसद एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ । तामाङसँगै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा तामाङ र श्रेष्ठलाई थुनामा राख्नुपर्ने अदालतले ठहर गरेको हो ।
तामाङ र श्रेष्ठले थुनछेक आदेशउपर चित्त नबुझाए माथिल्लो अदालतमा आदेश बदरको मागसहित निवेदन दिन भने पाउनुहुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार थुनछेक आदेशमा चित्त नबुझेमा एक तह माथिल्लो अदालतमा निवेदन दिन सकिने व्यवस्था छ ।
जन्मकैद तथा १० वर्ष वा सोभन्दा माथिको सजाय हुनसक्ने कसुरको थुनछेकमा भने पक्षले एक तहभन्दा माथिल्लो अदालतमा पनि निवेदन दिन पाउने कानुनी व्यवस्था छ । जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले अदालतमा हाजिर गराइएका १२ प्रतिवादीमध्ये दुई जनालाई थुनामा पठाएको छ । अन्य नौ जनालाई धरौटीमा रिहाको आदेश दिँदा एक जना साधारण तारेखमा रिहा हुने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । कसुरमा संलग्न रहेका भनिएका अन्य २९ जना अझै फरार छन् । फरारको हकमा उपस्थिति गराउन कानुनी प्रक्रिया अघि बढाइने छ ।
दाहालका अनुसार अदालतमा उपस्थित गराइएका हरिहर लामिछानेसँग ५० लाख रुपियाँ धरौटी माग भएको छ । यस्तै विजयविक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह डङ्गलालाई १० लाख रुपियाँ धरौटीमा रिहाको आदेश भएको छ । अन्य चार प्रतिवादीलाई अदालतले जनही पाँच लाख रुपियाँ धरौटी माग गरेको छ । पाँच लाख रुपियाँ धरौटीमा माग भएका प्रतिवादीमा कस्तुभ केतन ढुङ्गाना, एलिना तुलाधर, मायोनानी महर्जन र बुद्धराज तामाङ रहनुभएको छ । अदालतले प्रतिवादी शङ्करप्रसाद पाठकसँग दुई लाख ५० हजार र प्रतिवादी राकेश महर्जनसँग ५० हजार रुपियाँ धरौटी माग गरेको छ । प्रतिवादी सङ्गीत श्रेष्ठ साधारण तारेखमा रिहा हुनुभएको छ ।
सहकारीमार्फत कर्जा दुरुपयोग र ठगीको समेत आरोपमा तामाङलाई असोज १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । तामाङसँगै सिभिल सहकारीका अध्यक्ष र कर्मचारी पनि पक्राउ परेका थिए । प्रहरीले डेढ महिनाभन्दा लामो अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सरकारी वकिल कार्यालयले मङ्सिर १७ गते तामाङका परिवारका सदस्यसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । मुद्दामा पाँच अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रुपियाँ बिगो कायम गरिएको छ । ठगी र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । अभियोगपत्रमा तामाङ र परिवारका सदस्यका नाममा रहेको सम्पत्तिसमेत रोक्का राख्न माग गरिएको छ । तामाङ नेकपा (एमाले)का तर्फबाट दोस्रो संविधान सभामा सदस्य पनि हुनुहुन्थ्यो ।