सबै चुनावमा गठबन्धन : नेपाल
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १६ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने सबै चुनावमा गठबन्धनका दल मिलेर अघि बढ्न सक्ने बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै गठबन्धन हुनसक्ने भन्नुभएकाले आगामी निर्वाचनसम्म सरकारमा रहेका दल मिलेर अघि बढ्न सक्ने बताउनुभएको हो । उहाँले जनताको पीरमर्कासँग नजिक रहेको पार्टी नेकपा (एस) भएकाले आगामी निर्वाचनमा विजयी गराउने हिसाबले तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
मुलुकमा नयाँ वैचारिक शक्तिका रूपमा आफ्नो पार्टीको उदय भएको उहाँले दाबी गर्नुभयो । “जिल्ला जिल्लामा भएका भेलामा सयौँको सङ्ख्यामा प्रवेशका कार्यक्रम भएका छन्, उत्साहजनक सहभागिताले हाम्रो पार्टी नयाँ वैचारिक शक्तिका रूपमा स्थापित भएको कुराको पुष्टि गर्छ,” अध्यक्ष नेपालले थप्नुभयो ।
दैनिक रूपमा आफ्नो पार्टीको सामथ्र्य बढिरहेको बताउँदै २० हजारदेखि दुई लाखसम्म मत ल्याउने पार्टीले नेकपा (एस)सँग एकता गरिरहेको भन्नुभयो । त्यस्तै धेरै राजनीतिक दलले आफूहरूसँग एकता गर्न छलफल गरिरहेको दाबी अध्यक्ष नेपालले गर्नुभयो ।