माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने
काठमाडौँ, पुस १६ गते । नेकपा (माओवादी केन्द्र)को शुक्रबारको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै शुक्रबारको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।
निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिने कार्यक्रम छ ।
अध्यक्ष प्रचण्डको जवाफलगत्तै निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ । बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाइएको थियो । माओवादी महाधिवेशन पुस ११ देखि प्रज्ञा भवन कमलादीमा जारी छ । महाधिवेशनको छैठौं दिन अध्यक्षले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ ।
बिहीबारसम्ममा ‘प्रचण्ड’बाट प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएका समूहगत छलफलका निष्कर्ष प्रस्तुति भइसकेको छ ।
बिहीबार सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारो समूह ‘क’ बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिंखडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाई, समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बराल, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय सङ्गठन तथा मोर्चाबाट सुरेश आलेमगर, समूह ९, लुम्बिनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश २ बाट भवानी थापाले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो ।
यसअघि बुधबार प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सल्लाहकार समूह ‘क’बाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, केन्द्रीय आयोगबाट टङ्क राई, समूह १० गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट क. अजम्बर काम्वाङ राई, प्रदेश १ कै अर्को समूहबाट हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मीनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो ।
बुधबार ११ वटा समूह प्रमुख र बिहीबार थप बाँकी १४ समूहको तर्फबाट १३ जनाले प्रस्तुति राख्नुभएको थियो । माओवादी महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह गठन गरिएको भए पनि सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा राखेपछि समूहगत छलफलमा २४ समूहले निष्कर्ष प्रस्तुत गरेका हुन् ।