माओवादीआठौं महाधिवेशन : नेतृत्व चयनका लागि मतदान भोलि
काठमाडौं, पुस १८ गते । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमको कार्यतालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठद्वारा आइतबार दिउँसो पुनः संशोधित कार्यतालिका सार्वजनिक गरिएको छ ।
पुनः संशोधित कार्यतालिका अनुरुप ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । आज साँझसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि सोमबार बिहान ८ बजेदखि मतदानको कार्यतालिका तय भएको छ ।
यसअघि आइतबार दिउँसो २ बजेदेखि उम्मेदवारको मनोनयन पत्र दर्ता हुने र साझसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहे पनि यो मिति पुनः पछाडि सरेको हो ।
माओवादी केन्द्रको जारी बन्दसत्रमा सर्वसम्मतबाट नेतृत्व चयनका लागि जोड भइरहेको छ । सहमतिबाट नेतृत्व चयन हुन नसके निर्वाचनको प्रक्रिया अगाडि बढ्ने जनाइएको हो ।
माओवादी नेता जगत सिम्खडाले भने अझै पनि सहमतिको प्रयास भइरहेको दाबी गर्नुभएको छ । ‘निर्वाचन समितिले आफ्नो प्रक्रिया अगाडि बढाएको हुनसक्छ’, सिम्खडाले भन्नुभयो, ‘तर, अहिले पनि नेतृत्व चयनका लागि सर्वसम्मतिको बाटो अबलम्बन गर्ने विषयमा छलफल जारी छ ।’