राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा आठ जनाको उम्मेदवारी
गोकुल पराजुली
विराटनगर, पुस २० गते । राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा नेकपा एमाले, सत्तारुढ गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
चार वर्षे कार्यअवधि पूरा भएपछि रिक्त हुने राष्ट्रिय सभाका तीन सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टै मनोनयन दर्ता गराएको छ । राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराउनुभएको हो ।
राप्रपाले अपाङ्गता तथा अल्पसंख्यकतर्फ भने उम्मेदवारी दिएको छैन । राप्रपाले उम्मेदवारी दिएपछि सत्ता गठबन्धनलाई फाइदा पुग्ने देखिएको छ ।