मुख्य समाचार |

संसद्को गतिरोध हटाउन आग्रह

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २२ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संसद्मा जारी गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको छ । वरिष्ठ नेता पौडेल बुधबार अध्यक्ष ओलीको निवास बालकोट पुगेर कुनै पनि प्रकारको पूर्वाग्रह देश र लोकतन्त्र माथि नराख्न आग्रह गर्नुभएको हो । संवादमार्फत समाधान खोज्न प्रस्ताव गरेको बताउँदै पौडेलले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरू बसेर राजनीतिक समस्याको निकास खोज्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले भनेँ–तपाईंहरूजस्ता जिम्मेवार नेताहरूले राष्ट्रप्रति माया नगरे कसले गर्छ ? आफ्नो रिस यो देश र लोकतन्त्रमाथि नफेर्नुहोस् । बरू सम्झौता गर्नुहोस्, केही न केही निकास निकाल्नुहोस् ।” संसद् लामो समयसम्म चल्न नसक्दा राम्रो सन्देश नजाने पनि आफूले बताएको जानकारी पौडेलले गराउनुभयो । जवाफमा एमाले अध्यक्ष ओलीले आफूलाई एक्लो पार्ने कोसिस भएको गुनासो गर्नुभएको थियो । साथै ओलीले सभामुखले विभेद गरेको बताउनुभएको थियो । ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भन्नुभयो, “ओलीजीले गुनासोसहित प्रश्न गर्नुभयो, मलाई अदालतले प्रधानमन्त्रीबाट हटाउने ? गठबन्धन गरेर एक्लो पार्ने ? सभामुखले विभेद गर्न मिल्छ ?”

पौडेलले ओलीलाई सबै विषयमा संवाद गरेर अघि बढ्न आग्रह गरेको बताउनुभयो । यसैबीच एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले ओली र पौडेलबीचको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो । बजगाईंले भन्नुभयो, “एमाले अध्यक्ष र काँग्रेस वरिष्ठ नेताबीच भेट भएको छ । दुई नेताबीचको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो ।”