संस्थानले क्षमता विकासका लागि थप तालिम गर्नेछ : कार्यकारी अध्यक्ष सुवेदी
केदार तिमल्सिना
बनेपा, पुस २३ गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानसँग आवद्ध रहेका सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमको आयोजना गर्ने बताउनुभएको छ ।
संस्थानको आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित दुई दिने सोसल मिडिया ह्यान्डलिङ, समाचार लेखन तथा डिजिटल पत्रकारिता सम्बन्धी कार्यशाला गोष्ठीको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संस्थानले सञ्चारकर्मीको सीप विकासका लागि पहिलो तालिमको आयोजना सुरुवात मात्र भएको उल्लेख गर्नुभयो ।
‘यो तालिम एउटा सुरुवात मात्र हो’, अध्यक्ष सुवेदीले भन्नुभयो, ‘संस्थानमा कार्यरत पत्रकार र कर्मचारीको क्षमता विकासका लागि अब यस्ता कार्यक्रम थुप्रै हुन्छन् ।’ कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र दैनिक पत्रिका मात्रै नभएर एउटा इतिहास र युगको प्रतिनिधि भएको उल्लेख गर्नुभयो । ‘गोरखापत्र एउटा पत्रिका मात्र होइन, यो एउटा इतिहास र युगको प्रतिनिधि हो’, अध्यक्ष सुवेदीले भन्नुभयो, ‘यसको गरिमालाई अझै उचो बनाउन नयाँ प्रविधिसँग खेल्न सक्नुपर्छ ।’
उहाँले गोरखापत्र संस्थान गोरखापत्र अनलाइन र दि राइजिन नेपाल डेली डटकममार्फत डिजिटल पत्रकारितामा प्रवेशसमेत गरेको बताउनुभयो । ‘विश्व जगत नै डिजिटल युगमा प्रवेश गरेको छ’, उहाँले थप्नुभयो, ‘संस्थानका प्रकाशनप्रति आकर्षित हुनुभएका धेरैभन्दा धेरै नागरिकलाई डिजिटल कभरेजका माध्यमबाट सूसुचित गर्नुपर्ने आवश्यकता छ ।’
उहाँले पछिल्लो समय समाचारभन्दा पनि समाचारको विषयवस्तु, समाचारको प्रस्तुतिकरण र त्यसबाट पाठकमा पार्ने प्रभावको बारेमा मूल्याङ्कन गरेर समाचारका विषयवस्तु पाठकमाझ पस्कनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले पछिल्लो समय विकास भएको सोसल मिडियाका कारण सूचना प्रवाह गर्ने सन्दर्भमा सोसल मिडिया लिडर बनेको बताउनुभयो । उहाँले पत्रिकामा हरेक २४ घण्टामा प्रतिस्पर्धा हुने प्रक्रिया अहिले अनलाइनमा २४ सेकेन्डमा गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
‘चौबिस घण्टामा प्रकाशन तथा प्रशारण गर्ने समाचार प्रविधि र सोसल मिडियाको विकासका कारण अनलाइमा २४ सेकेण्डमा ब्रेक गर्नुपर्ने अवस्थामा साँघुरिएको छ’, उहाँले भन्नुभयो, ‘अब हामी यही गतिमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ उहाँले गोरखापत्र अनलाइन र दि राइजिङ नेपाल डेली डटकमलाई परिमार्जन गरेर अघि बढाउनका लागि काम अघि बढेको बताउनुभयो । डिजिटल पत्रकारिता र सोसल मिडियामार्फत संस्थानका गतिविधिहरु प्रस्तुत गर्नका लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
बिहीबारदेखि सुरु भएको कार्यशालामा संस्थान मातहत रहेको गोरखापत्र अनलाइन र दि राइजिङ नेपाल अनलाइन संस्करणमा कार्यरत सञ्चारकर्मीको उपस्थिति थियो । तालिममा उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो ।
गोरखापत्रको विश्वसनीयता उच्च छ : उमेश श्रेष्ठ
चर्चित ब्लग माइसंसार डटकमका संस्थापक सञ्चालक एवम् नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठले ‘समाचार लेखन र डिजिटल पत्रकारिता’ विषयमा प्रस्तुति दिनुभयो । श्रेष्ठले समाचार लेखन, प्रकाशन र वितरणमा ध्यान दिनुपर्ने विषयमा कुरामा जोड दिनुभएको छ ।
तालिमको क्रममा केही समय अगाडि भएको अध्यायनले गोरखापत्रको विश्वसनीयता अन्य मिडियाको भन्दा उच्च भएको कुरा उहाँले बताउनुभयो । ‘हामीले केही समय अगाडि गरेको अध्यायनले गोरखापत्रको विश्वसनीयता अन्य अनलाइनको भन्दा उच्च रहेको निष्कर्ष निकालेको छ’, श्रेष्ठले भन्नुभयो ।
उहाँले भाषागत एकरुपतामा अपनाउनुपर्ने सचेतता, सूचनाको वर्षालाई स्क्यिान गर्ने क्षमता डेस्कमा बस्नेमा हुनुपर्ने विषयमा केही सुझाव दिनुभएको छ । राम्रो समाचार बनाउन अनलाइनले अक्षर, फोटो, भिडियो, इन्फिोग्राफिक्स, छोटा वाक्य, प्याराग्राफ, हाइपरटेक्स र सबहेडिङमा जोड दिनुपर्ने उहाँको भनाइ छ । समाचार लेखन र प्रकाशनपछि वितरणमा सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिनुपर्ने विषयमा उहाँको प्रस्तुति केन्द्रित रहयो ।
प्रशिक्षक उमेश श्रेष्ठलाई मायाको चिनु प्रदान गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी ।
सरकारी मिडियामा सोसल मिडिया नीति आवश्यक छ : सुवेदी
प्रशिक्षक प्रवेश सुवेदीले सरकारी मिडियामा सोसल मिडिया नीति आवश्यक भएको उल्लेख गर्नुभएको छ । तालिममा ‘सोसल मिडिया ह्यन्डलिङ’ शीर्षकमा प्रस्तुति दिँदै उहाँले यस्तो बताउनुभएको हो । ‘सरकारी मिडियामा सामाजिक सञ्जाल प्रयोगको नीति आवश्यक छ’, सुवेदीले भन्नुभयो, ‘यसले तपाईंहरुको विश्वसनियतालाई अझ राम्रो बनाउनसक्छ ।’
उहाँले आफ्नो प्रस्तुततिमा प्रविधिको विकासक्रम र नेपालमा त्यसको प्रयोगबारे चर्चा गर्नुभयो । पछिल्लो समय सामाजिक सञ्जालले एजेन्डा सेटिङको काम गर्दै आएको र यो बहसको एउटा केन्द्र भएको उहाँको भनाइ छ । सामाजिक सञ्जालको प्रभावकारी प्रयोगका निम्ति गुणस्तरीय समाचार सामग्रीलाई समयमै सम्प्रेषण गर्नुपर्नेमा उहाँको जोड थियो ।
प्रशिक्षक प्रवेश सुवेदी ।
तालिममा दि राइजिङ नेपालका सम्पादक भिमसेन थपलिया, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, गोरखापत्र अनलाइनका सम्पादक रामप्रसाद हुमागाईं, गोरखापत्र संस्थानका प्रशासन-व्यापार विभागका निमित्त निर्देशक ओम भुसाल, कर्मचारी प्रशासन शाखा प्रमुख विक्रमबाबु राई, आईटी विभाग प्रमुख रेखादेवी श्रेष्ठलगायत विभागीय प्रमुख र अनलाइन शाखाका पत्रकारको उपस्थिति थियो ।