मुख्य समाचार |

‘एमसीसीबारे स्पष्ट धारणा बनाऔँ’

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्ता साझेदार पाँच दलले स्पष्ट धारणा बनाउनुपर्ने बनाउनुभएको छ ।
वरिष्ठ नेता पौडेलले गठबन्धन समन्वय समितिको बैठकमा १२बुँदे प्रस्ताव पेस गर्दै एमसीसीबारे साझा धारणा बनाउनुपर्ने बताउनुभएको हो ।

पौडेलले भन्नुभयो, “आर्थिक सहयोग राष्ट्रको हितमा हुनुपर्छ । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेको छ । त्यसैले पाँच दलले स्पष्ट धारणा बनाउनुपर्छ भन्ने प्रस्ताव गरेको हुँ ।” उहाँले संसद्को गतिरोध हटाउन प्रयत्न गर्नुपर्ने, सर्वोच्च अदालतको गतिरोध हटाउनुपर्ने र नारायणहिटीपरिसरभित्र कुनै संरचना निर्माण गर्न नदिई, त्यसलाई प्राकृतिक मनोहर पार्कमा परिणत गर्नुपर्ने प्रस्ताव गरेको बताउनुभयो ।
अन्य सरकारी जमिन, नदी किनाराका जमिन तथा राष्ट्रिय सम्पत्ति खोजबिन गरी रेकर्ड दुरुस्त राख्न लगाउने तथा तिनको उचित उपयोग र संरक्षण गराउने प्रस्ताव गर्नुभएको छ ।

निजगढ विमानस्थल निर्माण, बूढीगण्डकी, माथिल्लो कर्णाली, सुनकोसी डाइभर्सन, भेरी डाइभर्सन, मेलम्ची र जनकपुर रेल सञ्चालनलगायतका राष्ट्रिय आयोजनाको गतिरोध हटाई कार्यान्वयन अघि बढाउने प्रस्ताव उहाँले गर्नुभएको छ ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, “कृषि मलको आपूर्ति व्यवस्था स्थायी रूपमै गर्नुपर्ने, उखु किसानको बक्यौता उखु मिलका मालिकबाट भुक्तानी गराउने, भूमि आयोगको पूर्णता र कार्यान्वयन गर्ने, नागरिकता विधेयक अघि बढाउने, सङ्घीय निजामती ऐन अघि बढाउने प्रस्ताव पनि गरेको छु । ”