बैङ्क प्रणालीबाहिर अर्बाैंको अवैध कारोबार
काठमाडौँ, पुस २६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यही पुस १८ गते ५० लाख रुपियाँ नगदसहित सौर्य एयरका दुई कर्मचारी रेशा शाक्य र प्रकाश पौड्याललाई पक्राउ ग-यो । विराटनगरबाट काठमाडौँ आएको ‘एसएयू–७२४’को उडानमार्फत चाउचाउको कार्टोनमा लुकाएर ल्याएको रकमको स्रोत खुलेको छैन ।
सौर्य एयरले उक्त रकम टिकटबापतको भनी दाबी गरेको छ तर विराटनगरमा बैङ्क नै नभएजस्तो गरेर विमानबाट ओसार्नुपर्ने अवस्थाबारे प्रहरीले आशङ्का गरेको छ । राजस्व अनुसन्धान विभागले यसको अनुसन्धान गरिरहेको छ ।
त्यसको चार दिनपछि पुस २२ गते प्रहरीले धनुषा लक्ष्मीनिया गाउँपालिका–१, सिनुरजोडाका अमितकुमार यादवलाई ३८ लाख ३५ हजार रुपियाँसहित पक्राउ ग¥यो । प्रदेश–२–०२००१ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्याङ्कीमा भारतबाट लुकाएर ल्याउँदै गरेको रकमबारे अनुसन्धान भइरहेको छ ।
यी घटनाअघि गत कात्तिक २४ गते काठमाडौँ र भक्तपुरको सीमास्थित मनोहराबाट ८० लाख रुपियाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त रकम हुन्डीमार्फत जापानबाट आएको खुल्यो । गत असोज ८ गते पनि काठमाडौँको नागढुङ्गाबाट ९५ लाख रुपियाँसहित भारतीय नागरिक सागर सीताराम लोखण्डे र कृष्ण आदातेलाई प्रहरीले पक्राउ गरेको थियो । त्यो अवैध रकम तस्करीको सुन खरिदमा प्रयोग भएको खुल्यो ।
कारोबारमा हत्या पनि गत वर्षको पुस २० गते पनि ४० लाख नगदसहित पक्राउ परेका व्यासमुनि तेली गुप्ताको समूहले केराउ तस्करी गर्ने क्रममा कैलालीको धनगढी–१२ स्थित अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको थियो ।
२०७७ चैत २९ गते एक करोड ४७ लाख ८६ हजार रुपियाँसहित सचिनकुमार अग्रवाल तथा अङ्कित अग्रवाल र एक करोड ५६ लाख ८३ हजार ६०४ रुपियाँसहित नुरुद्दिन अन्सारीलाई प्रहरीले समात्यो । तीनै जना भारतीय नागरिक हुन्डी कारोबारमा संलग्न रहेको खुलेको छ । २०७५ मङ्सिर ८ गते एक करोड ४३ लाख ४७ हजार ६१० सहित चिनियाँ नागरिक तथा २०७७ पुसमा एक करोड नगदसहित भारतीय नागरिक श्रवण चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
ठूलो रकमको अवैध कारोबारमा यी प्रतिनिधि घटना मात्र हुन् । प्राप्त तथ्याङ्कअनुसार नेपालमा पछिल्लो समय अवैध रूपमा आर्थिक कारोबार हुने देखाएको छ । ठूलो परिमाणको नगद तस्करी (बल्क क्यास स्मग्लिङ) बैङ्क प्रणालीभन्दा बाहिरबाट हुने गरेको देखाएको छ ।
यी घटनामा पक्राउ परेका व्यक्तिको राष्ट्रियताका आधारमा यस्तो अपराधमा ठूलो सञ्जाल रहेको स्पष्ट हुन्छ । साथै अवैध रूपमा ओसारपसार हुने रकम लागूऔषध, सुन तस्करी तथा राजस्व छली र हुन्डी कारोबारमा प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको छ । बैङ्क प्रणाली बाहिरबाट हुन थालेपछि त्यसको असर मुलुकको अर्थतन्त्रसँगै शान्ति सुरक्षामा समेत देखिएको छ ।
अर्बौंको अवैध कारोबार
राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपियाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपियाँ बराबरको विदेशी मुद्रा पनि गैरबैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ८३ करोड रुपियाँ राजस्व छली तथा चार अर्ब ६१ करोड रुपियाँ बराबरको विदेशी मुद्रा अपचलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आव २०७६/७७ मा १५ अर्ब ५९ करोड ७२ लाख राजस्व छली तथा एक अर्ब ३३ करोड विदेशी मुद्रा अपचलन भएको छ । आव २०७७/७८ मा १९ अर्ब ८१ करोड ९५ लाख राजस्व छली तथा चार अर्ब ९४ करोड ५८ लाख बराबरको विदेशी मुद्रा अपचलन भएको छ । चालू आवको पाँच महिनामा मात्र सात अर्ब ११ करोड ७१ लाख राजस्व छली र १५ करोड ४५ लाख रुपियाँ बराबरको विदेशी मुद्रा अपचलन भएको पाइएको छ ।
राजस्व अनुसन्धान विभागको मात्र होइन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पनि यस्तै तथ्याङ्क छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा ७६ वटा घटनामा सात अर्ब ६७ करोड ४१ लाख छ हजार २८५ रुपियाँ ९० पैसाको कारोबार अवैध रूपमा भएको खुलेको छ ।
राजस्व अनुसन्धान विभागका निर्देशक कृष्णप्रसाद पाण्डेले कर छली र विदेशी मुद्रा अपचलनका घटनाबारे विभागले अनुसन्धान गरिरहेको बताउनुभयो । “विभागले विभिन्न माध्यमबाट प्राप्त सूचनाअनुसार यस्ता गतिविधिमाथि निरन्तर निगरानी बढाउँदै गएको छ”, उहाँले भन्नुभयो ।
दण्ड सजाय कडा, रोकिएन कारोबार
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, २०७० अनुसार १० लाख रुपियाँभन्दा माथिको कारोबारको स्रोत अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै अवैध रूपमा रकम बोक्ने तथा यस्तो कारोबार गर्ने वा कसुर गर्ने व्यक्ति तथा संस्थालाई बिगोअनुसारको दोब्बर जरिवाना तथा दुईदेखि १० वर्षसम्म
कैद हुन्छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले अवैध रूपमा कमाएको रकम गैरबैङ्किङ प्रणालीबाट परिचालन हुने क्रम बढेको बताउनुभयो । “सम्पत्तिको स्रोतको वैधता नखुल्ने तथा गैरकानुनी रूपमा कमाएको रकम अदृश्य रूपमा प्रयोग हुने क्रम बढेको देखिन्छ”,
उहाँले भन्नुभयो ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले १० लाख रुपियाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा चेकमार्फत गर्नुपर्ने बताउनुभयो । गैरकानुनी रूपमा हुने आर्थिक कारोबार र मुद्राको ओसारपसार कडाइ गर्ने तयारी राष्ट्र बैङ्कले गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।