मुख्य समाचार | समाज |

बजेट अभाव हुँदा विदेश पुगेका मूर्ति फर्काउनै समस्या

काठमाडौं, पुस २७ गते । आइतबार ४० वर्षअघि नक्सालको शंखरकीर्ति बिहारबाट हराएको पद्मपाणी लोकेश्वरको मूर्ति बिहारमा प्रतिस्थापन गरिएको छ । राजा शंकरदेवको पालामा निर्माण भएको मूर्ति २०३३ सालमा चोरी भएको थियो । आइतबार उक्त मुर्ति राष्ट्रिय सङग्रहालय छाउनीबाट बाजागाजासहित नक्सालको बिहारमा लगेर प्रतिस्थापन गरिएको हो । यसरी चोरी भएका सयौँ नेपाली मूर्ति विदेश पुगेका छन् । त्यसलाई ल्याउन सरकारले पहल थालेको छ । 

तर, विदेशमा फेला परेका मूर्ति फर्काउन बजेटको अभाव देखिएको छ । बजेट अभावकै कारण अमेरिकामा फेला परेका मूर्ति फर्काउन समस्या भएको पुरातत्व विभागका प्रमुख अधिकृत सुभद्रा भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार अमेरिकाबाट पाँच वटा मूर्ति फिर्ता ल्याउने प्रक्रियामा छन् । सबै मूर्ति राजदूताबासमा राखिएको छ । उहाँका अनुसार जसमध्ये दुई वटा मूर्ति भने फिर्ता गर्ने सहमति भइसकेको छ ।

हालसम्म नेपालका विभिन्न सम्पदाबाट हराएर विदेश पुगेका बहुमूल्य र पुरातात्विक महत्वका ७६ वटा मूर्ति नेपाल ल्याइएको छ । फिर्ता भएका मूर्तिहरु राष्ट्रिय सङग्राहलयमा सुरक्षित राखिएको छ । बेलायतबाट १९, अमेरिकाबाट १४, अष्ट्रियाबाट १, तिब्बतबाट २८, जर्मनीबाट १, भारतको कलकत्ता बाट १३ गरेर जम्मा ७६ वटा मूर्ति नेपाल ल्याइएको छ ।

जसमा बुद्ध तथा हिन्दू धर्मसम्बन्धी देवी देवताका मूर्ति, ग्रन्थ र धेरैजसो मल्लकालीन हस्तलिखित पुरातत्वका वस्तु रहेको पुरातत्व विभागका प्रमुख भट्टराईको भनाइ छ । उहाँका अनुसार नेपालबाट १४ औँ र १५ औँ शताब्दीका मूर्ति धेरैजसो चोरी भएका छन् । अहिले धार्मिक अस्थाका कारण ती मूर्तिहरु फिर्ता हुन थालेका हुन् ।

नेपालबाट मूर्तिलगायत हस्तकलाका सामग्री कति चोरी भए भन्ने एकिन तथ्याङ्क सरकारसँग नरहेको अधिकृत भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मूर्ति, हस्तकला र कष्ठकलाका समान विदेशमा थुप्रै छन्, जसको तथ्याङ्क हामीसँग छैन ।’ जयस्थिति मल्लको पाला अर्थात् १९५० तिर नेपालबाट बोराका बोरा पुरातत्विक सम्पदा वस्तुहरु चोरी भएको इतिहास रहेको उहाँको भनाइ छ . 

 

दुई वटा सम्पदा अमेरिकाबाट नेपाल ल्याउने प्रक्रियामा
नेपालबाट हराएको एउटा गणेशको मूर्ति अमेरिकाबाट फर्काउने प्रक्रियामा रहेको अधिकृत भट्टराईको भनाइ छ । सिकागोमा ५० हजार डलरमा बेच्नका लागि राखिएकोमा मूर्ति नेपाली पर्यटकले देखेर खबर गरेपछि फर्काउने प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।

१९६० तिर चोरी भएको उमा महेश्वरको मूर्ति, लिच्छविकालीन चर्तुमुखी शिवलिङ्गको मूर्ति, शिवको मूर्ति, काठको तोरन, गन्धर्व आकृतिसमेत रहेको उहाँले बताउनुभयो । यसको लागि कूटनीतिक पहल भइरहेको उहाँले जानकारी दिनुभयो । सोमबार मात्र अमेरिकाको चर्चित रुबिन म्युजियममा रहेका दुई वटा पुरातात्तिवक सम्पदा नेपाल फर्काउने सहमति भएको छ । काठमाडौं उपत्यकाबाट ३२ वर्षअघि हराएका इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा र पाटनको यम्पी महाविहारबाट गायब मूलढोका माथि राखिने तोरण नेपाल फर्काउने सहमतिमा हस्ताक्षर भएको हो । इटाली, फ्रान्स, लण्डन, बेलायत, तिब्बत, अष्ट्रिया र भारतलगायत देशबाट यस्ता मूर्ति ल्याउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

अहिले पनि मूर्तिलगायत बहुमूल्य पुरातात्विक महत्वका वस्तु चोरी हुनु सरकारका लागि चुनौती रहेको अधिकृत भट्टराईको भनाइ छ । ‘अहिले पनि मूर्ति चोरी हुनु, नाश हुनु, असुरक्षित हुनु सरकारको लागि चुनौतीको विषय हो,’ अधिकृत भट्टराईले भन्नुभयो, ‘पहिले शिक्षाको अभावमा जनचेतनाको कमी थियो, अहिले कानुन छ । तर, आपराधिक गतिविधि बढेको छ । यो सरकारको लागि चुनौती हो’, उहाँले भन्नुभयो । मूर्ति चोरी हुन नदिन सरकारले मात्र होइन, स्थानीय तहले पनि चासो दिनुपर्ने उहाँले बताउनुभयो ।

पर्यटन गतिविधिसँगै मूर्ति चोरी बढ्यो

अधिकृत भट्टराईकाअनुसार वि.सं. २००७ सालपछि नेपालमा पर्यटन क्षेत्रको विकास भएको हो । त्यो सँगसँगै सकारात्मक र नकारात्मक कुराको विकास भएको देखिन्छ । ‘त्यो समयमा मानिसमा चेतनाको कमी थियो । संरक्षण गर्नुपर्छ भन्ने थाहै थिएन’, उहाँले भन्नुभयो, ‘धनी मानिस सौखले सांस्कृतिक सम्पदा किनेर शृङ्गारको रुपमा प्रयोग गर्थे । मूर्ति हराउनुमा एकले अर्कोलाई उपहार दिने र किनमेल गर्ने चलनको असर पनि देखिन्छ ।’

मन्दिरमा राखिएका महत्वपूर्ण मूर्ति चोरी भएर नै विदेश पुगेको भट्टराई बताउनुहुन्छ । नेपालमा लिखित कानुन बन्नु अगाडिदेखि नै मूर्ति चोरी निकासी हुने गरेको उहाँको भनाइ छ । ‘पुरातत्व विभाग त वि.सं. २००९ सालमा बनेको हो । २०१३ सालमा लिखित कानुन बन्यो’, उहाँ भन्नुहुन्छ, ‘मूर्ति चोरी त्यो भन्दा पहिला नै बढी भएको अध्ययनले देखाएको छ ।’

सय वर्ष पुराना मूर्ति सार्न पनि पाइदैन

अधिकृत भट्टराई आधुनिक मूर्ति बेच्न पाइने भए पनि सय वर्ष पुराना मूर्तिहरु एक ठाउँबाट अर्को ठाउँमा सार्न नमिल्ने बताउनुहुन्छ । सय वर्ष पुरानो भएपछि त्यसलाई पुरात्व मानेर संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । पुरातत्वको रुपमा स्थापित भएका मूर्ति देशभित्र एक ठाउँबाट अर्को ठाउँमा सार्नसमेत नमिल्ने हुँदा विदेश पुग्नु विडम्बना भएको उहाँको तर्क छ । आधुनिक मूर्ति भने प्रमाणपत्रको आधारमा बेच्न पाइने उहाँले बताउनुभयो ।
‘एक सय वर्ष पुराना मूर्तिलगायतका वस्तु पुरातत्वभित्र पर्छन् । यस्ता वस्तु देशभित्र पनि एक ठाउँबाट अर्को ठाउँमा सार्न पाइदैन’, भट्टराई भन्नुहुन्छ, ‘पुरातात्विक महत्वका मूर्ति विदेश लान कानुनले नै प्रतिबन्ध गरेको छ । तर, ‘आधुनिक मूर्ति प्रमाणपत्रको आधारमा बेच्न पाइन्छ ।’

एसियन कलेक्सनका नाममा विदेशी सङ्ग्रहालयमा नेपाली मूर्ति राख्ने गरेको पाइएको छ । पुरातत्व विभागकी अधिकृत भट्टराईका अनुसार नेपालीहरु ती सङ्ग्रहालयमा पुग्दा मूर्ति भेटिनेक्रम सुरु भएको छ । ‘विदेशी सङ्ग्रहालयमा एसियान कलेक्सनका नाममा नेपाली मूर्ति भेटिन थालेका छन्’, उहाँ भन्नुहुन्छ ।

युनेस्को कन्भेन्सनमा सन् १९७० मा भएको हस्ताक्षर अनुसार प्रमाण पुगेका पुरातात्विक महत्वका कलाकृति फिर्ता ल्याउन पाइन्छ । उक्त कन्भेन्सनमा १४१ राष्ट्रले सय वर्ष पुराना कलाकृति फिर्ता गर्न पाउनेगरी हस्ताक्षर गरेको भट्टराईको भनाइ छ । सोही आधारमा नेपालले आफ्ना सम्पदामा दाबी गर्दे फिर्ता ल्याउन थालेको उहाँले बताउनुभयो ।