विराट दरबार क्षेत्रमा प्राचीन बस्ती
शशिधर पराजुली
विराटनगर, माघ ६ गते । विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती क्षेत्रमा रहेको भेडियारीमा पुरातत्त्व विभागको टोलीले एक हप्तादेखि अनुसन्धान गरिरहेको छ । दरबार क्षेत्र रहेको विश्वास गरिएको ठाउँलाई मुख्य क्षेत्र मानेर गरिएको उत्खननबाट प्राचीन बस्ती दक्षिण र पश्चिमतर्फ फैलिएको पाइएको हो । पुरातत्त्व विभागका पाँच जनाको टोलीले पुस २७ गतेदेखि उत्खनन गरिरहेको छ ।
पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत भाष्कर ज्ञवालीले भन्नुभयो, “हामीले मुख्य माउन्ट क्षेत्र (ढिस्को)मा पुनः उत्खनन गरेका छौँ । माउन्ट क्षेत्र (२० गुणा २० मिटर क्षेत्रफलमा फैलिएको) उत्खनन गर्दा विगतमा पहिचान भएको मन्दिरको जग र त्यहाँबाट मानव बसोबास रहेको क्षेत्र पहिचान गरेका छौँ ।” ‘माउन्ट’ क्षेत्रबाट तत्कालीन विराट क्षेत्रको बसोबास दक्षिण र पश्चिमतर्फ फैलिएको पाइएको जानकारी उहाँले दिनुभयो । दक्षिण र पश्चिम क्षेत्र भारतीय भूमिसम्म फैलिएको उत्खनन टोलीको अनुमान छ ।
पुरातìव विभागले यस पटक तीनवटा मुख्य उद्देश्य लिएर उत्खनन थालेको हो । सन् १९६८ पछि विभागले दोस्रो पटक भेडियारीमा उत्खनन थालेको हो । पुरातत्त्व अधिकृत ज्ञवालीका अनुसार ईसापूर्वको दोस्रो शताब्दीमा निर्माण भएको मानिएको मन्दिरको पहिचान गर्ने, कार्बन डेटिङकाे माध्यमबाट तिथि पत्ता लगाउने र दरबार तथा तेस्रो शताब्दीमा मानिस बसोबास गरेको बस्ती क्षेत्रको फैलावट (आर्कोलोजी) पहिचान गर्ने उद्देश्य राखेर उत्खनन गरिएको हो । उत्खननबाट मन्दिरको पहिचान भएको र पुरातात्त्विक स्पष्ट गर्न सफल भएको ज्ञवालीको भनाइ छ ।
मुख्य माउन्ट क्षेत्रबाट पूर्व वा उत्तरतर्फ बस्ती क्षेत्र हुनसक्ने अनुमान अनुसन्धान टोलीको थियो । यद्यपि उत्खननबाट दक्षिण र पश्चिम क्षेत्रमा प्राचीन बस्ती रहेको पाइएको छ । पूर्वतर्फ किचक बध पोखरी भए पनि अहिले त्यहाँ उत्खनन गर्ने योजना नरहेको ज्ञवालीले जानकारी दिनुभयो । कार्बन डेटिङको माध्यमबाट तिथि प्रमाणित गर्न भने बाँकी रहेको छ । भेडियारीमा सन् १९६८ मा पुरातात्त्विद् तारानन्द मिश्रको टोलीले पहिलो पटक उत्खनन गरेको थियो । त्यतिबेला मुख्य उत्खनन क्षेत्रमा ४८ गुण ४४ लम्बाकार मुगल सेपमा बनेको मन्दिर रहेको भनिएको थियो । त्यतिबेला उत्खनन गरेर पुनः माटोले छोपेर उठाइएको ढिस्को पुनः विभागले उत्खनन गर्दा आयात आकारको फेला परेको र दुई साइजको इँटाहरू भेटिएका छन् ।
उत्खननका क्रममा ४० से.मी. लम्बाइ, २८ से.मी. मोटाइ र ५ से.मी. चौडाइ तथा ३२ से.मी. लम्बाइ, २३ से.मी. मोटाइ र ५ से.मी. चौडाइको इँटा भेटिएको ज्ञवालीले जानकारी दिनुभयो । उत्खननका क्रममा केही झिङ्गटी पनि भेटिएका छन् । त्यसबाहेक अन्य महìवपूर्ण वस्तुहरू यस पटक फेला नपरेको ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्खनन कार्य माघ १४ गतेसम्म सकिने छ । उत्खननमा मन्दिरको माथिल्लो भाग फेला नपरेको र जग मात्र भेटिएको छ । उत्खनन गरिएको क्षेत्रलाई त्रिपालले छोपेर राखिने छ । १९६८ मा उत्खनन पञ्चमार्क सिक्का फेला परेको बताइएको छ । ती सिक्का ईसापूर्व ५ देखि १० मा भारत वर्षमा प्रचलनमा रहेको विश्वास गरिन्छ । विराटनगर महानगरपालिकाले भेडियारीको करिब १२८ बिघा क्षेत्रलाई सरंक्षणसहित पुरानो संरचनाको परिकल्पना गरी नयाँ संरचना बनाउने बृहत् परियोजना तयार गरिरहेको जनाएको छ तर भेडियारी क्षेत्रमा अहिले रेलवे, आईसीपीजस्ता पूर्वाधारहरू निर्माण भइसकेका कारण उत्तरतर्फ धेरै उत्खनन गर्ने र पुरातात्विक खोज गर्ने सम्भावना न्यून भएको टोलीको भनाइ छ ।