मुख्य समाचार |

शहीदको आकाङ्क्षा साकार पारौं

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले देशका लागि प्राण आहुति गर्ने शहीदको सपना साकार पार्न सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको छ । शहीद दिवसका अवसरमा आइतबार सन्देश दिनुहुँदै राष्ट्रपतिले नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयबाट जारी सन्देशमा भनिएको छ, “शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्‍वास लिएको छु ।”

सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न यस दिवसले थप प्रेरणा प्रदान गर्ने अपेक्षा राष्ट्रपतिले गर्नुभएको छ ।