मुख्य समाचार |

खोप हराएको छैन :मन्त्री खतिवडा

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१ विरुद्धको खोप हराएको वा लुकाएको भन्ने प्रचार गलत रहेको बताउनुभएको छ । गोरखापत्रसँग कुरा गर्दै मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको खोप कुन–कुन देशबाट कति परिमाणमा आयो भन्ने तथ्याङ्क मन्त्रालयमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “कुन प्रदेश र कुन जिल्लामा कति वितरण भयो भन्ने डाटा पनि हामीसँग छ, केन्द्रमा लगाएको तथ्याङ्क हामीसँग छ । अहिले गाउँ–गाउँमा खोप पु-याइएको छ । त्यसको सबै तथ्याङ्क भने आइसकेको छैन ।” उहाँले गाउँ–गाउँमा दिइएको खोप दिने टोलीबाट विवरण सङ्कलन भइरहेको बताउँदै वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रमा तथ्याङ्क आउने प्रस्ट पार्नुभयो । मन्त्री खतिवडाका अनुसार खोप लगाउन आउनेको सङ्ख्या तलमाथि हुँदा पनि यकिन तथ्याङ्क नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोप हराएको वा लुकाएको होइन । एउटा प्याकेटमा १० वटा हुन्छ । कतै सात जना, कतै आठ जनाले लगाउँछन् । दुई–तीनवटा नलगाई स्टोर गर्नुपर्ने हुन्छ । खोपको प्याकेट खोलेपछि निश्चित समयभित्र लगाइसक्नुपर्ने हुन्छ ।” कतिपय स्थानमा प्रमाणपत्रबिना बुस्टर खोप लगाएका कारण तथ्याङ्क तलमाथि भएको हुन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खोप लगाएपछि प्रमाणपत्र दिइन्छ तर कतिपयले कार्ड नदिई पनि खोप लगाएको पाइएको छ । मानवीय पक्षलाई ध्यान दिनैपर्छ । यसो गर्दा पनि रेकर्ड तलमाथि हुन्छ ।”

मन्त्री खतिवडाले प्रमाणपत्रबिना बुस्टर खोप लगाउनेलाई खोप केन्द्रमा गएर सूचीकृत हुन अनुरोध गर्नुभएको छ । मन्त्री खतिवडाले सरकारले कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइरहेकाले कालोबजारी हुने वा लुकाएर बेच्ने सम्भावना नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकारले सबै नागरिकलाई खोप निःशुल्क प्रदान गरिरहेको छ । छिमेकी देश भारतमा पनि निःशुल्क छ । कतै खोप बेच्ने ठाउँ पनि छैन । पैसा तिरेर कसैले लगाउँदैन । खोप छ्याप्छाप्ती छ । त्यसैले कालोबजारी गर्नेले लुकाउने र बेच्ने
सम्भावना छैन । ”

अक्सिजन उत्पादन वृद्धि
खतिवडाले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका लहर देखिएपछि देशभर स्वास्थ्य सामग्री र जनशक्ति परिचालन गरिएको बताउनुभयो । उहाँले सातै प्रदेशमा रहेका कोभिड अस्पतालमा भेन्टिलेटर, आईसीयू, एनआईसीयू र वार्ड तयार अवस्थामा राखिएको बताउनुभयो ।

उहाँले अक्सिजनको उत्पादन वृद्धि गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “डेल्टा भेरियन्ट उत्कर्षमा रहेका बेला २० हजार अक्सिजन सिलिन्डर माग थियो । आपूर्ति गर्न निकै सकस थियो तर अहिले दैनिक २७ हजार पाँच सय सिलिन्डर उत्पादन गर्ने संरचना निर्माण भएको छ । नयाँ लहरविरुद्ध लड्न सरकार जनताको साथमा छ । ”