मुख्य समाचार |

एनटीभी अझै प्रतिस्पर्धी बन्नुपर्छ : प्रधानमन्त्री

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल टेलिभिजन (एनटीभी)ले समयानुकूल प्रविधिको प्रयोग गर्दै प्रतिस्पर्धी बन्नु आवश्यक भएको बताउनुभएको छ । नेपालको सबैभन्दा जेठो नेपाल टेलिभिजनकोे ३७औँ वार्षिकोत्सवका अवसरमा सोमबार शुभकामना दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । समयअनुसार परिस्कृत र प्रतिस्पर्धी भएर अझ अब्बल बन्दै अघि बढ्न जोड दिनुहुँदै प्रधानमन्त्री देउवाले एनटीभी सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेर अघि बढेको उल्लेख गर्नुभयो । उहाँले नेपालका विभिन्न कालखण्डको सामाजिक र राजनीतिक परिवर्तनको साक्षीका रूपमा यो टेलिभिजन रहेको छ भन्नुभयो ।

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विविधतामा एकताको राष्ट्रिय भावनालाई विकास गरेको नेपाल टेलिभिजनले सबै क्षेत्रलाई समान प्राथमिकतामा राखेर विषयवस्तुको निर्माण र प्रसारण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय दायित्वका साथै व्यावसायिक क्षमता पनि देखाउनुपर्ने एनटीभीले दर्शकको रुचि र चाहनाअनुसारका कार्यक्रम उत्पादन र प्रसारणमा विशेष जोड दिनुपर्ने बताउनुभयो । नेपालमा पहिलो टेलिभिजन च्यानलका रूपमा प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनका काठमाडौँ उपत्यकाभित्र तीन र काठमाडौँ उपत्यकाबाहिर दुईवटा च्यानल सञ्चालनमा छन् ।