सीसीएमसीसीको एजेण्डा तय गर्न प्रधानमन्त्री कार्यालयमा बैठक
काठमाडौं, माघ २१ गते। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारी र निजी क्षेत्रका प्रतिनिधिबीच कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको विषयमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता महादेव पन्थका अनुसार बैठकमा कोरोना संक्रमण र आगामी रणनीतिका विषयमा छलफल भएको हो ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयसँगै प्याब्सन र एनप्याब्सनका प्रतिनिधि सहभागी हुनुहुन्छ।
‘बैठकमा स्वास्थ्य, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयका अतिरिक्त प्याब्सन र एनप्याब्सनका पदाधिकारीबीच सामान्य छलफल भयो’, पन्थले भन्नुभयो, ‘निर्णय केही भएको छैन ।’
पन्थका अनुसार बैठक आइतबार बस्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीमसीसी)को एजेण्डा तयार गर्न बसेको हो।
कोरोना महामारी बढ्दै गएपछि सरकारले गरेको कडाईलाई विस्तारै खुकुलो बनाउँदै गएको छ।थप रणनीति तय गर्न बैठक बसेको उहाँको भनाइ छ।