चुनौती झेल्दै सङ्क्रमितका सारथि
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २३ गते । कोभिड–१९ प्रकोप तीव्र रुपमा फैलिँदा सङ्क्रमितका लागि ‘भगवान’सरह बने, डाक्टर, नर्स र चिकित्सा क्षेत्रमा क्रियाशील सबै विभागका कर्मचारी । अहिले पनि उनीहरु देशभरिका अस्पतालमा हजारौँ सङ्क्रमितको सेवामा खटिएका छन् ।
कोभिड–१९ को सङ्क्रमण भएको शरीर तङ्ग्रिन नपाउँदै अस्पताल आइपुग्ने स्वास्थ्यकर्मीहरू महामारीमा बिरामीका सारथिकै रुपमा सक्रिय छन् । यस्तै उदाहरणीय सेवामा सक्रिय हुनुहुन्छ महाराजगञ्जस्थित शिक्षण अस्पतालको ‘वार्ड एनेक्स ३ र एचडीयू’ नर्सिङ अधिकृत नारायणी गौतम ।
कोभिड–१९ को पहिलो लहरमा देश आक्रान्त हुँदा उहाँ शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा सहायकको भूमिकामा हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण बढेकै बेला एक वर्षसम्म कोभिड अपरेसन थिएटरमा काम गरेँ । त्यहाँ कोभिड केससँगै र सङ्क्रमित गर्भवतीको उपचारमा सहायकको भूमिका काम गरेँ ।” २५ वर्ष स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आउनुभएकी गौतम कोभिड–१९ का दौरान सयौँ बिरामीको उपचारमा संलग्न हुनुभयो । आफूलाई सङ्क्रमणबाट जोगाउने र अरुको उपचारमा खट्ने उहाँ यो महामारीमा सुरुका दिनदेखि नै सक्रिय हुनुहुन्छ ।
कोभिड–१९ तीव्र रुपमा बढेपछि शिक्षण अस्पतालमा रेस्पिरेटरी वार्ड सुरु भयो । त्यससँगै एचडीयूमा पनि उहाँले नेतृत्वदायी भूमिकामा काम गर्नुभयो । उहाँले भन्नुभयो, “इञ्चार्जको जिम्मेवारीमा काम गर्दा आफूसँगै अरु सहकर्मीको चिन्ता उत्तिकै हुन्छ । क्रसित अवस्थामा पनि आफ्ना समस्य लुकाएर अरुलाई उत्साह दिने र कामका लागि समन्वय गर्दै कोरोना भाइरसविरुद्धको लडाइँ अघि बढिरहेको छ ।”
उहाँले शिक्षण अस्पतालमा सङ्क्रमितको चाप बढेपछि १२ घण्टासम्म काम गरेको बताउनुभयो । त्रिवि नर्सिङ क्याम्पस महाराजगञ्जबाट पिडिएट्रिक नर्सिङमा मास्टर्स गर्नु भएकी गौतमले भन्नुभयो, “कोभिड अस्पतालमा सेवा प्रभावित नहोस् भनेर १२ घण्टाको दरले काम गर्ने र केही स्टाफलाई रिजर्भमा राख्ने पनि गरेका थियौँ । तर, अहिले ओमिक्रोनको लहरमा सङ्क्रमण धेरै भए पनि काम गर्न केही सहज छ ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत डा. किरण महर्जन कोभिड–१९ को सुरु भएयता निरन्तर उक्त अस्पतालमा खटिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, “कोभिड–१९ सङ्क्रमण बढेपछि फिजिसियनको जिम्मेवारी अझै बढ्छ । कोभिडका बिरामीलाई हेर्नुपर्ने हुन्छ । यो प्रकोपमा धेरै चुनौतीका बीच कुनै दिन पनि थाकेँ नभनी काम गरिरहेका छौँ ।”
उपचार गराउन अस्पताल आएका सङ्क्रमितहरूले ज्यान गुमाउँदा निकै पीडा हुने बताउँदै डा. महर्जनले भन्नुभयो, “अहिले सङ्क्रमितहरू गम्भीर बिरामी प्रायः हुनुहुन्न । तर, पहिलो लहरमा निकै चुनौती थियो । युवाहरू पनि ढल्ने अवस्था आउँदा पीडा, चिन्ता निकै हुन्थ्यो ।”
नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र वीर अस्पतालबाट एमडी गर्नु भएका डा. महर्जन वि.सं. २०६९ लोकसेवा आयोगको परीक्षामा पास भएर सरकारी सेवामा प्रवेश गर्नु भएको हो । उहाँले भन्नुभयो, “धेरै चुनौती पार गरिसकेका छौँ । ओमिक्रोनको लहरले सङ्क्रमित बढे पनि ज्यादै ठूलो स्वास्थ्य समस्या दिएको छैन । त्यसैले यो लहर नियन्त्रण गर्ने र सङ्क्रमितको उपचार गर्न हामी हरसम्भव प्रयत्न गर्ने छौँ ।”
वीर अस्पतालमा हाउस किपिङ इञ्चार्ज राधा आचार्य पनि कोभिड–१९ प्रकोप सुरु भएदेखि नै अस्पतालको व्यवस्थापकीय पक्षमा सक्रिय रहँदै आउनु भएको छ । वीर अस्पतालमा कार्यरत झन्डै १८० जना सरसफाई कर्मचारीको परिचालनको जिम्मेवारी उहाँकै हो । २७ वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत आचार्यले भन्नुभयो, “कोभिड र ननकोभिडको सरसफाई र व्यवस्थापनको काम अलग–अलग ढङ्गले हुन्छ ।”
उहाँका अनुसार कोभिडका बिरामी राखिएको स्थानमा सङ्क्रमणको उच्च जोखिम उच्च हुन्छ । उहाँले भन्नुभयो, “फोहोरमैला व्यवस्थापन, सङ्क्रमण रोकथामसम्बन्धी, सरसफाईकर्मीको व्यवस्थापनको जिम्मेवारी लिएकी छु ।” नर्सिङमा स्नातक गर्नुभएकी आचार्यले कोरोना प्रकोपमा अनेकन चुनौती पार गर्दै निरन्तर सेवामा सक्रिय रहेको बताउनुभयो ।