मुख्य समाचार |

केशरमहलकाे कागजात व्यवस्थापन गरिने

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २३ गते । केशरमहलका ढोकामा बेवारिसे अवस्थामा थुपारिएका पुराना कागजात व्यवस्थापनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ । गोरखापत्रले बिहीबार सो मन्त्रालय र मातहतका निकायलगायतका अन्य मन्त्रालयका निकायका कागजातका डङ्गुर तीन वर्षदेखि आकाशमुनि मिल्काइएको समाचार प्रकाशन गरेको थियो ।

पुनर्निर्माण सुरु गर्दा केशरमहलभित्र रहेका कागजात सम्बन्धित निकायले नलगेपछि निर्माण कम्पनीले बाहिर ल्याएर मिल्काइदिएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सो समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै भन्नुभयो, “त्यहाँ अन्य निकायका पनि कागजात भएकाले जस जसका कागजात छन् सबै मिलेर छुट्याउने र आ–आफ्ना कागजात लिनुपर्ने देखिएको छ । त्यसबारेमा छलफल भएको छ । छिटै ती कागजात ल्याइनेछ ।

”कागजातसँगै पुराना फर्निचर पनि बेवारिसे रूपमा मिल्काइएको छ । तीन वर्षसम्म लगातारको घामपानीका कारण धेरै फर्निचर मक्किएका छन् । मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिने कतिपय फर्निचर माग भएमा उपलब्ध गराउन मिल्ने भनाइ मन्त्रालयको छ ।