मुख्य समाचार |

स्थानीय सरकारको सार्थक पहल : आहा ! इलाम

दीपक श्रेष्ठ/काठमाडौँ
कोकिला ढकाल/इलाम

काठमाडौँ/इलाम, फागुन १ गते । इलाम भ्रमणको एउटै इच्छा हुन्छ– चियाबारी घुम्ने । श्रीअन्तुडाँडा उक्लेर सूर्योदय र हिमाली बतासको आनन्द लिने । त्यसैले त गङ्गाराज मुकारुङले यो गीत लेखे होलान्–
इलामे सहर चियाबारी राम्रो
त्यहीँ प-यो घर हाम्रो
कसकी हौ छोरी, पातली मोरी
लैजाने दाउ हाम्रो....
इलामको पर्यटनमा पछिल्लो समय विविधता थपिएका छन् । कन्याम र श्रीअन्तुसँगै अन्यत्र पनि पर्यटकीय गन्तव्य विकास गरिँदै छ । खासगरी स्थानीय सरकार गठनपछि पर्यटकीय नयाँ गन्तव्यको खोजी र विकास भइरहेको छ ।

इलामको पर्यटनको ठूलो हिस्सा आन्तरिक घुमन्ते छन् । यद्यपि, भारतीय तथा अन्य मुलुकका पर्यटकको रोजाइसमेत इलाम बन्दै गएको छ । दार्जिलिङतिर दौडिएका पर्यटकको पाइला इलामतिर मोडिन थालेका छन् ।

इलाममा पछिल्लो समय कृषि पर्यटनको विकास भइरहेको छ । उच्च पहाडी पदमार्गको पहिचान, निर्माण र प्रवद्र्धन गरिँदै छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई भन्नुहुन्छ, “इलामको पर्यटनलाई कृषिसँग जोड्दै पर्यटन पूर्वाधार विकासका काम गरिरहेका छौँ ।”

बादलको घुम्टोभित्र प्रायः लुकिइरहने इलामलाई ‘लजालु पहाड’ पनि भनिन्छ । त्यो घुम्टो उघ्रिएको बेला इलामको प्राकृतिक सौन्दर्यबाट नलोभिने को पर्यटक होला ? अध्यक्ष राई भन्नुहुन्छ, “पूर्वेली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गरी इलामको पर्यटनमा विविधता खोज्ने प्रयास थालिएको छ । इलामेली स्वागत सत्कारबाट पनि पर्यटक पक्कै लोभिन्छन् ।”
उहाँका अनुसार इलाममा उत्पादन हुने अर्थोडक्स चियामात्र होइन अदुवा, अलैँची, अम्लिसो, जडीबुटी र व्यावसायिक पशुपालन अवलोकन र अध्ययन गर्न पनि नेपालभरबाट इलाम भित्रने पर्यटकको सङ्ख्या धेरै छ ।

इलाममा पर्यटन पूर्वाधारको विकासले समेत गति लिएको छ । पर्यटकीय गन्तव्यसम्म पुग्न पक्की सडक, हवाईमैदानको सुधार, सुविधासम्पन्न होटल, अस्पतालको स्थापना र सेवा वृद्धि, बिजुली विस्तारका साथ ग्रामीण क्षेत्रमा घरबासको विकासमा लगानी बढिरहेको छ । इलाम नगरपालिका प्रमुख महेश बस्नेत भन्नुहुन्छ, “पर्यटकको यात्रा सहज, सुविधाजनक र सुरक्षित बनाउन पूर्वाधारमा पनि लगानी बढाइएको छ ।”

चुलाचुली गाउँपालिका र माई नगरपालिकाले पनि स्थानीय विशेषताअनुसारको पर्यटन पूर्वाधार विकासका काम गरिरहेका छन् । इलाम नगरपालिकाले पर्यटन विकासको गुरुयोजना नै तयार पारेको छ ।

नगरपालिकाकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान थप गरिएको छ । पाटेनागी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने नगरको योजना छ । पुवाखोलामा पुल निर्माण सुरु भएको छ । ३७० मिटर लामो पुलबाट बन्जीजम्पको सेवा सञ्चालन गर्ने योजनासमेत छ । पर्यटकको खुसीमा इलामको समृद्धि देख्ने नगर प्रमुख बस्नेत भन्नुहुन्छ, “इलाम घुम्न आउने पर्यटकले खुसी बोकेर जाऊन्, आहा ! इलाम भन्ने प्रतिक्रिया दिएर जाऊन् । फेरि–फेरि इलाम घुम्न आऊन् ।”

दन्तेलहरूजस्तै हिमशृङ्खला । उदाउँदो र अस्ताउँदो सूर्यको दर्शन । त्यसका लागि पर्यटकको ताँती लाग्ने तीन हजार ६३६ मिटर उचाइको सकन्दपुरमा भर्खरै विद्युत् पु-याइएको छ । भारतसँग सिमाना जोडिएको सन्दकपुरमा बिजुली पुगेपछि भारततर्फको परनिर्भरतासमेत घट्दै गएको छ । यसले स्थानीयवासी खुसी छन् । स्थानीय पेमाडन्डु शेर्पा भन्नुहुन्छ, “बिजुली विस्तारपछि पर्यटकलाई दिइने सेवामा समेत सुधार भएको छ ।”

इलाम नगरपालिकाबाट करिब १३ किलोमिटर उत्तरमा माईपोखरी छ । त्यसभन्दा करिब २५ किलोमिटर उत्तरमा सन्दकपुर पर्छ । जहाँ अतिथि गृहसमेत निर्माण भइरहेको छ । सो ठाउँसम्म पुग्ने सडक कालोपत्रे थालिएको छ ।

सन्दकपुर गाउँपालिकाका अध्यक्ष राई भन्नुहुन्छ, “सडक कालोपत्रेपछि पर्यटकको यात्रा अझ सहज हुनेछ । यसले भारततर्फको स्थानीय परनिर्भरतासमेत घटाउनेछ ।”
उच्च पहाडी अन्तुपोखरीमा डुङ्गा सयरको आनन्द लिन सकिन्छ । होमस्टेमा स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।

फिक्कल छिबिटार हुँदै १४ किलोमिटर पक्की सडक यात्रापछि पुगिने अन्तुमा पूर्वाधारको काम भइरहेको छ । सरकारले घोषणा गरेको एक सय गन्तव्य सूचीमा रहेको कन्याम–फिक्कल–अन्तु सर्किटअन्तर्गत पनि कन्याम र अन्तुमा पर्यटकीय पूर्वाधार विकासका काम भइरहेका हुन् । करिब दुई करोड रुपियाँमा अन्तुमा भ्युटावर निर्माण गरिएको छ ।
अन्तुमा करिब डेढ करोड रुपियाँ खर्चेर सौन्दर्यीकरणको काम भइरहेको सूर्योदय नगरपालिकाले जनाएको छ ।

त्यस्तै, चिया पर्यटनका लागि चर्चित कन्याममा मेची राजमार्ग चौडा पारिएपछि सौन्दर्यीकरणको काम भइरहेको छ । सडकमा ट्राफिक सङ्केत, रङ्गरोगनले यतिबेला कन्याम निकै सुन्दर भएको छ । हर्कटे बजारदेखि फिक्कलसम्मको राजमार्ग चौडा पार्ने र सौन्दर्यीकरणका लागि करिब दस करोड रुपियाँको काम भइरहेको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई बताउनुहुन्छ । गीत–सङ्गीतमा समेत इलामको बयान धेरै पाइन्छ । त्यसबाट पर्यटकले बेग्लै आनन्द लिइरहेका हुन्छन् ।

घोडा चढेर चियाबगानमा घुम्ने । पूर्वेली पहिरन लगाएर तस्बिर लिने । इलाम भ्रमणको उद्देश्य यतिमात्र कहाँ हुन्छ र ? घरमा इलामको छुर्पी र घ्यु कोसेली बोक्ने रहर पनि पर्यटकलाई किन हुँदैन ? त्यसका लागि स्थानीय निकाय र पर्यटन व्यवसायीले कोसेलीघरको व्यवस्थासमेत गरेको पाइन्छ । इलाम नगरपालिका प्रमुख बस्नेत भन्नुहुन्छ, “हामी चाहन्छौँ, इलाम घुमेर जाने पर्यटकले सधैँ इलाम सम्झिरहोस् ।”