मुख्य समाचार | राजनीति |

फागुन ७ गते कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा हुने

काठमाडौं, फागुन १ गते। कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कमल थापाले राप्रपा नेपाल घोषणा गर्ने जानकारी गराउनुभएको हो।

थापाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राप्रपा, नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको बताउनुभएको हो। आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनेसमेत अध्यक्ष थापाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौँ’, अध्यक्ष थापाले विज्ञप्तिमा भन्नुभएको छ, ‘राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुनेछ।’

थापाले केही समयको अलमलपछि फेरि आफ्नै घरमा फर्किएको दाबी गर्नुभएको छ। ‘देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ’, अध्यक्ष थापाले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ,‘केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौँ।’

राप्रपा नेपाललाई जीवन्त तुल्याउने नेता लाक्पा तामाङलाई धन्यवाद दिनुभएको छ। थापाले पाँच वर्षपछि आफूहरुलाई नियतले सही ठाउँमा पुर्याएको दाबीसमेत गर्नुभएको छ। विज्ञप्तिमा विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै एक पटक गन्तव्यतर्फ अग्रसर भएको उल्लेख गर्नुभएको छ। ‘विगतका त्रुटी, कमजोरीबाट पाठ सिकेर तथा गल्तीहरु सच्याएर फेरि एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौँ’, थापाले भन्नुभएको छ।

थापाले राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि ‘हिन्दू राष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मुल एजेण्डा हुने उल्लेख गर्नुभएको छ। जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यता, प्राथमिकता र कार्यनीतिमा समायानुकुल परिमार्जन गरेको उहाँको भनाइ छ।