मुख्य समाचार | राजनीति |

संसद्‍ बैठकमा एमसीसी टेबल हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं, फागुन ३ गते । नेपाली काँग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबार संसद्‍मा टेबल हुने बताएको छ । काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै संसदमा एमसीसी टेबल हुने बताउनुभएको हो ।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता महतले एमसीसी टेबल हुने बताउनुभएको हो । प्रवक्ता महतले संसदमा एमसीसी टेबल गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रतिबद्धता जनाउनुभएको प्रष्ट पार्नुभयो ।

‘सभामुखबाट प्रतिबद्धता आइसकेको छ । भोलिको बैठकमा एमसीसी टेबल हुन्छ,’ उहाँले भन्नुभयो, ‘सम्भावित कार्यसूचीमा अहिले नभए त्यो फेरि थपिएला, तर भोलि टेबल हुन्छ ।’ बुधबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसीको समेटिएको छैन ।

एमसीसीबारे गलत प्रचार भएको प्रवक्ता महतको भनाइ छ । ‘जो विरोध गर्दैछन्, उनीहरू नै एमसीसी सम्झौताको प्रक्रियामा संलग्न छन् । अझ संसद्‍बाट अनुमोदन गर्नुपर्छ भन्ने बुँदा नै केपी ओलीजीको सरकारले गरेको हो,’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हिजो एउटा कुरा, आज अर्को कुरा गरेर बोली फेरेको राम्रो होइन, त्यसको जनताले मूल्यांकन गर्छन् ।’