कोहलपुरमा दस तले दर्शनटुप्पो
सिराज खान
नेपालगञ्ज, फागुन ७ गते । पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौँस्थित धरहराको झल्को दिने गरी दस तले भ्युटावर (दर्शनटुप्पो)को निर्माण तीव्र गतिमा भइरहेको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माणाधीन लिफ्टसहितको सुविधा सम्पन्न सो दर्शनटुप्पोको निर्माण कार्य ७२ प्रतिशत सम्पन्न भइसकेको र बाँकी काम पनि जारी रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो । समग्र पश्चिम नेपाल मात्र नभई भारतीय नागरिकलाई समेत आकर्षित गर्नेगरी नगरपालिकाको गौरवको योजनामा पारेर सो अत्याधुनिक दर्शनटुप्पोको निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।
दस तलाको उचाइसहित निर्माण भएको दर्शनटुप्पोमा समयको जानकारी गराउने उद्देश्यले ठूलो घडी राखिने बताउँदै रावतले लिफ्टबाट माथि जान सकिने र दर्शनटुप्पोबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने बताउनुभयो । अधिकांश निर्माण पूरा भइसकेको र लिफ्ट जडानसहित रङरोगन र सजावटको काम मात्र हुन बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । पाँच करोड ८८ लाख रुपियाँको लागतमा अत्याधुनिक दर्शनटुप्पो निर्माण भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।
दर्शनटुप्पोले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले बताउनुभयो । उहाँले यो टावर पूर्ण रूपमा निर्माण भएर सञ्चालनमा आएपछि यसलाई हेर्न हजारौँ स्वदेशी र भारतीय नागरिक आउने बताउनुभयो । नौ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी दर्शनटुप्पो निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बालकृष्ण महतराले जानकारी दिनुभयो । एकै पटक १५ जना जानसक्ने क्षमताको लिफ्ट जडान गरिने बताउँदै उहाँले दृश्यवलोकनका लागि एक पटकमा ५० जना जान सक्ने क्षमता हुने जनाउनुभयो ।
कोरोना महामारीका कारण निर्धारित समयमा निर्माण कार्य पूरा नहुँदा निर्माण कम्पनी जय भवानीले थप छ महिना म्याद थपको माग गरेको छ । भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भए पनि अन्तिम फिनिसिङ कार्य सम्पन्न गर्नका लागि छ महिना म्याद थपको माग गरिएको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताउनुभयो । निर्माण नसकिँदै दर्शनटुप्पो अवलोकन गर्न ठूलो सङ्ख्यामा सर्वसाधारण पुग्न थालेको स्थानीय बासिन्दाले जनाएका छन् ।