हाम्रो अर्को फड्को
गोरखापत्र नेपाली पत्रकारिताको गौरवशाली संस्था हो। मुलुककै जेठो समाचारपत्रका रूपमा १२१ वर्षदेखि यो निरन्तर प्रकाशित छ। गोरखापत्र अखबार मात्र होइन, यो हाम्रो गौरव अनि इतिहास एवं सभ्यता पनि हो। हाम्रो संस्कृति, साहित्य र भाषिक विविधताको धरोहरका रूपमा यो रहेको छ। १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ नेपालमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा एउटा ठूलो फड्को पनि थियो।
नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा युगको जीवन्त प्रतिनिधि हो। आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिका गोरखापत्र हो। शताब्दी लामो यात्रा पार गरिसकेको गोरखापत्रले हाम्रो सामाजिक विकास र संस्कृति प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसले इतिहासका अनेक उकाली ओराली पार गरेको छ भने राजनीतिक र सामाजिक परिवर्तनका थुप्रै आरोह अवरोहको साक्षी बनेको छ।
वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ को लक्ष्य हासिल गर्न संस्थाको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार तथा परिवर्तनको अभियान सुरु भइसकेको छ। संस्थासँग रहेका पूर्वाधार, मानव संशाधन, प्राविधिक एवं भौतिक स्रोतसाधनको अध्ययन गरेर त्यसको प्रभावकारी उपयोग र परिचालन गरी परम्परागत ढर्रामा चल्दै आएको गोरखापत्रलाई ‘डिजिटल सिफ्ट’ गर्नु आजको आवश्यकता हो। सूचना प्रविधिको तीव्रतर विकाससँगै मिडिया उद्यमको मात्र होइन, पत्रकारिताको चित्र र चरित्र बदलिएको छ। दुनियाँ डिजिटल भइसकेको छ। अबको दुनियाँमा बलवान् हामी पत्रकार वा पत्रिका होइन प्रविधि र पाठक हुन्।
पाठकसमक्ष रोजाइका अनगन्ती विकल्प छन् र उनीहरूका चाहना र आवश्यकता फेरिएका छन्। सामाजिक सञ्जालको आक्रामक विकास र विस्तार मूल प्रवाहको मिडियाका लागि सबैभन्दा ठूलो चुनौती हो। आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनर्संरचनासहित यसका सम्पादकीय उत्पादनहरू (गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुनालगायत)को गुणस्तरमा अभिवृद्धि गरी गोरखापत्रलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छौँ।
कोहलपुरबाट हामीले पश्चिम क्षेत्रको आफ्नै संस्करण सुरुवात गरेका छौँ। हरेक बिहान तपाईंले आफ्नै घरआँगनमा गोरखापत्र तथा यसका अन्य प्रकाशन प्राप्त गर्न सक्नुहुनेछ। अब गोरखापत्रका प्रकाशनहरूको उपस्थिति र पहुँच पश्चिमका तीनवटै प्रदेशमा अझ सहज र व्यापक हुनेछ। दुई वर्षअघि कोहलपुरबाट अरुको प्रेस भाडामा लिएर पश्चिम संस्करण निकाल्ने प्रयास भएको थियो तर त्यो प्रयासले पूर्णत नपाउँदै दुई महिनामै स्थगित भयो।पश्चिम क्षेत्रमा छपाइका लागि आफ्नै मेशिन तथा पूर्वाधार नहुँदा तीनवटै प्रदेशमा हाम्रो उपस्थिति केही समय अलि खुम्चिएको अवस्था थियो। अब त्यो अन्त्य भएको छ । स्थानीय तहबाट समाचार, सूचना तथा अन्य सामग्रीको प्रभावकारी संयोजन तथा संप्रेषण गरेर यो क्षेत्रको समृद्धि तथा यहाँको संस्कृति तथा सम्पदाको प्रवद्र्धन तथा संवद्र्धनमा पनि हामीले महत्वपूर्ण योगदान पुर्याउन सक्छौं।
पूर्व क्षेत्रलाई समेट्ने गरी यसअघि नै हामीले विराटनगरबाट क्षेत्रीय प्रकाशन सुरु गरिसकेका छौँ। अब पूर्व र पश्चिम दुवैतर्फ गोरखापत्र र यसका अन्य प्रकाशनहरूको उत्पादन तथा वितरण प्रभावकारी बनाउनका लागि हामीले सम्पादकीय गुणस्तरको अभिवृद्धिसँगै बजार प्रवद्र्धनको अभियान पनि अघि बढाएका छौँ। निकट भविष्यमा प्रदेश सरकारसँगको सहकार्यमा हरेक प्रदेशबाट प्रादेशिक प्रकाशन सुरु गर्नका लागि हामीले प्रदेश सरकारसँग छलफल तथा आन्तरिक गृहकार्य अघि बढाएका छौँ।
समयमै सबै पाठकले गोरखापत्र र यसका अन्य प्रकाशनहरू सहज रूपमा प्राप्त गर्ने अवस्था तयार गर्न हामीले वितरण प्रणालीमा संरचनागत र नीतिगत सुधारको थालनी पनि गरेका छौँ। हामीसँग उपलब्ध साधन, स्रोत तथा प्रविधिको प्रभावकारी उपयोग गर्दै प्रिन्ट र डिजिटल दुवै भर्सनमा हामी छिटै नयाँ डिजाइन तथा साजसज्जासहित प्रस्तुत हुँदैछौँ। १९५८ सालदेखि प्रकाशित गोरखापत्रका हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री तथा तस्बिरहरूलाई व्यवस्थित र सुरक्षित रूपमा सङ्ग्रह गरेर त्यसलाई मुलुककै सम्पदाका रूपमा संवद्र्धन गर्ने कामलाई पनि हामीले प्राथमिकताका साथ अघि बढाएका छौँ।
शताब्दी लामो अविरल यात्रामा हामीलाई निरन्तर माया र हौसला प्रदान गर्ने सबै सम्मानित पाठक, लेखक, सहयोग गर्ने विज्ञापनदाता र समग्र शुभचिन्तकसमक्ष हामी हार्दिक आभार व्यक्त गर्दछौँ। हामीलाई व्यावसायिक तथा जिम्मेवार हुनका लागि निरन्तर मार्गनिर्देशन तथा अभिभावकत्व प्रदान गर्ने नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। वर्तमान डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा उत्रनुपर्ने चुनौती हामीसामु छ। त्यो चुनौती सामना गर्दै अघि बढ्न हामी नयाँ योजनासहित प्रस्तुत हुँदैछौँ। सबै पाठकले सहज रूपमा पढ्न पाउने र सबै नेपालीको ढुकढुकी बोल्ने एउटा प्रिय, विश्वसनीय एवं जिम्मेवार सञ्चार संस्थाका रूपमा अझ परिमार्जित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
(कोहलपुर प्रकाशन गृहको समुद्घाटन तथा पश्चिम क्षेत्र प्रकाशन सुभारम्भ कार्यक्रमको अवसरमा फागुन ७ गतेको अंकमा प्रकाशित कार्यकारी अध्यक्ष विष्णु सुवेदीको प्रकाशकीय)