गृहमन्त्री खाँण र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, फागुन ११ गते । गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बुधबार बिहान भएको भेटमा वर्तमान राजनीतिक विषयमा छलफल भएको गृहमन्त्री निकट स्राेतले जानकारी दिएको छ ।
उहाँहरुबीच वर्तमान अवस्थामा संसद् कसरी सुचारु गर्नेलगायत समसामयिक राजनीतिमा देखिएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भएको छ ।
अध्यक्ष ओलीले भने प्रमुख प्रतिपक्षी दलको हैसियतले एमालेले असहमतिका कुरा शालीनतापूर्वक् राख्दै आएको तर, सत्तामा रहेकै दल वा घटकले सडक तताउन तल्लीन बनेको धारणा राख्नुभएको जनाइएको छ । सरकारमा रहे कै दलले राष्ट्रको सम्पत्ति भत्काउने जस्ता गतिविधि आश्चर्यजनक रहेको यसप्रति सरकार गम्भीर हुनुपर्नेमा ओलीले ध्यानाकर्षण गराउनुभएको पनि उहाँले बताउनुभयो ।
यसबाहेक सदनमा प्रवेश भइसकेका मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट् जस्ता विषयहरु अगाडि बढाउन सदनमा विरोधको अन्त्य हुनुपर्ने धारणा गृहमन्त्री खाँणले राख्नुभयो । खाँणले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएकाले यसका लागि पनि सत्तापक्ष र प्रतिपक्षमा सहमतिको वातावरण बन्नुपर्नेमा जोड दिनुभएकाे स्राेतले बतायाे ।
एमाले अध्यक्ष ओलीले मङ्गलबार राती प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको थियो । यससँगै आज बिहान साढे ९ बजेदेखि करिब आधा घण्टा गृहमन्त्री खाँण र ओलीबीच छलफल भएको हो ।