मुख्य समाचार | राजनीति |

समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं, फागुन ११ गते। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले देशको समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ। ७१ औं जन्मोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा ‘समवेत दृष्टि’ नामक पुस्तक लोकार्पणपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले एमालेले राज्य सञ्चालन तथा प्रशासन सम्बन्धी स्वच्छ र व्यवस्थित दृष्टिकोण तय गर्दै आएको उल्लेख गर्नुभयो। ‘हामी मोर्चामा हारेका हौं, युद्धमा हारेका छैनौँ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ।’ विकास, पूर्वाधार, सामाजिक न्याय र समानता, कला, इतिहास र वर्तमानलाई जोड्ने सन्दर्भमा एमालेले नीति तय गरेको उहाँले प्रष्ट पार्नुभयो।

स्थानीय तहको चुनावपछि फेरि सरकारको नेतृत्वमा एमाले आउने उहाँको विश्वास छ। काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको विकासको कार्य स्मरण गराउनुहुदै उहाँले इतिहास झल्कने, आधुनिकता टल्कने विकासको नमुना रहेको उल्लेख गर्नुभयो । पुस्तक पत्रकार लोग्शरी कुँवर र संजय खड्काले लेख्नुभएको हो । पुस्तक अध्यक्ष ओलीबारे लेखिएको छ ।