न्यायाधीश गौतमविरुद्ध चलाइएको भ्रष्टाचार मुद्दा बदर
काठमाडौं, फागुन १३ गते। बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका चितवन जिल्ला अदालतका न्यायाधीशविरुद्ध चलाइएको मुद्दा सर्वोच्च अदालतले बदर गरेको छ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको पूर्ण इजलासले चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको माग बमोजिम मुद्दा बदर गरिदिएको हो।
न्यायाधीश गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारबाही गर्न नसक्ने भन्दै न्यायपरिषदबाट कारबाही हुनुपर्ने मागसहित अदालत जानुभएको थियो।
बिहीबार न्यायाधीश भट्टराई, सिन्हा र श्रेष्ठको पूर्ण इजलासले संविधानले जिल्ला न्यायाधीशमाथि भ्रष्टाचारमा अनुसन्धान गरेर मुद्दा चलाउन सक्ने अधिकार न्याय परिषद्लाई दिएकोमा अख्तियारले आफ्नो क्षेत्राधिकार नाघेर मुद्दा चलाएको भन्दै ललिता निवाससम्बन्धी विशेष अदालतमा दायर मुद्दा न्यायाधीश गौतमका हकमा बदर गरिदिएको छ।
बालुवाटार जग्गा प्रकरणमा संलग्न रहेको भन्दै आयोगले गौतमसहित १६५ जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। न्यायाधीश गौतमले आफू जिल्ला न्यायाधीश भएकाले अख्तियारले आफूविरुद्ध मुद्दा दायर गर्न नसक्ने भन्दै अख्तियारको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन दिनुभएको थियो।