भारततिर बसाइँ सर्दै नेपालका बाघ
वसन्त पराजुली
भरतपुर, फागुन १५ गते । संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन–जङ्गलतिर जाने गर्छन् । पछिल्ला वर्षमा चितवन र आसपासका क्षेत्रमा यस्तै घटना देखिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट घडियाल गोही र गैँडा बाढीले बगाएर भारत पुगेका घटना यसअघि सार्वजनिक भएका छन् । पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सीमित वासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएका छन् । प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने अन्य तथ्यले पनि बाघ बिस्तारै भारतीय भूमिमा पुगेको देखिने बताउनुहुन्छ । पछिल्लो पटक सन् २०१८ मा गरिएको बाघ गणनामा देशैभर बाघको सङ्ख्या बढ्दा चितवन निकुञ्जमा भने घटेको थियो । यसको प्रमुख कारण नै यहाँका बाघ बसाइँ सरेर अन्यत्रै गइरहेका छन् भन्ने बुझ्न गाह्रो पर्दैन,” उहाँले भन्नुभयो ।
सन् २०१८ मा बाघको गणना हुँदा चितवन निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा १२० र सन् २००९ को गणनामा ९१ वटा बाघ चितवनमा रहेको तथ्याङ्क छ । उता, सन् २००८ सम्म एउटामात्रै बाघ भएको वाल्मीकिमा भने बाघको सङ्ख्या बढेर २०१८ को गणनामा ३० भन्दा माथि पुगेको पाइन्छ । प्रमुख डा. लामिछानेका अनुसार वाल्मीकिमा सन् २०१३ को गणनामा १६ वटा भेटिएका थिए ।
“सन् २०१३ को बाघ गणनामा चारवटा बाघ चितवन निकद्रञ्ज र वाल्मीकि दद्रवैतर्फ क्यामरा ट्र्यापिङमा परेको देखियो । यसले पनि चितवनका बाघ वाल्मीकि सर्दै छन् भन्ने देखाउँछ,” डा. लामिछानेले भन्नुभयो ।
चितवन निकुञ्ज बाघको प्रमुख वासस्थान हो । चितवनका बाघ चुरे पहाड हुँदै भारतको सीमाक्षेत्रमा रहेको वाल्मीकि पुग्ने गरेको बताइन्छ । त्रिवेणीवारि वाल्मीकि आश्रमदेखि माडीको सोमेश्वर पहाडसम्म चितवन राष्ट्रिय निकुञ्ज र वाल्मीकि बाघ संरक्षण केन्द्र जोडिएको छ । विश्व वन्यजन्तु कोषअन्तर्गत रहेको तराई भूपरिधि कार्यक्रमका परामर्शदाता रामप्रीत यादव चितवनका बाघ वाल्मीकि बाघ संरक्षण केन्द्रतिर सर्ने गरेको कुरा स्वीकार गर्न‘हुन्छ । चितवनभन्दा वाल्मीकिमा बाघका लागि उपयुक्त वातावरण र पर्याप्त क्षेत्रफल बनाउँदै लगिएको छ ।
“नारायणी, राप्तीलगायतका खोलानालामा हरेक वर्ष आउने बाढीले निकद्रञ्जका घाँसेमैदान पद्ररिँदै जाँदा बाघका लागि आहाराजन्य जनावरको सङ्ख्या बढ्न नसक्दा पनि आहाराकै खोजीमा बाघ ठाउँ सरेको हुनपर्छ,” उहाँले भन्नुभयो । हालै गरिएको एक सर्वेक्षणअनुसार ९५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघको आहाराजन्य जनावर प्रतिवर्ग किलोमिटरमा ७२ वटा भेटिएका छन् । बाघको प्रमुख आहारा वन्यजन्तुमा मृग, बँदेल, जरायो, चित्तलजस्ता जनावर हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य पनि बाघका लागि आहाराजन्य जनावर घट्दै जानु बाघ बसाइँ सराइको समस्या भएको तर्क गर्नुहुन्छ । “चितवन राष्ट्रिय निकुञ्जमा बढ्दो अतिक्रमण, मानवीय चापकै कारण पनि बाघको वासस्थानमा असर गरिरहेको छ,” उहाँले भन्नुभयो ।