जनताप्रति जिम्मेवार भएर सत्य बोल्ने आँट गर्नुपर्छ : बाबुराम भट्टराई
काठमाडौं, फागुन १५ गते। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश र जनताप्रति जिम्मेवार भएर सत्य बोल्ने आँट गर्नुपर्ने बताउनुभएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो।
एमसीसी सम्झौता सामान्य विषय भए पनि यसलाई गिजोलिएको भन्दै उहाँले अब सत्य बोल्नुपर्नेमा जोड दिनुभएको हो। ‘हामी देश र जनताप्रति जिम्मेवार भएर सत्य बोल्ने आँट गर्नुपर्छ’, डा. भट्टराईले भन्नुभयो, ‘सत्य र प्रिय बोल्नुपर्छ तर, कुनै सत्य अप्रिय लाग्छ। तर, त्यो देश र जनताको पक्षमा भए बोल्ने आँट गर्नुपर्छ।’
माथिदेखि तल्लो तहसम्म सम्झौतालाई विशाक्त बनाइएको भन्दै उहाँले अब त्यसलाई सच्याउने काम नेताहरुले गर्नुपर्नेमा जोड दिनुभयो। ‘एमसीसीको विषय एउटा सामान्य अनुदान सम्झौता थियो। तर, हामीले गिजोलेर लग्यौँ। हामी आपसमा लड्दैछौँ। हामी बोल्दा आरोप लाग्ने र ढुंगामुढा हुने हो कि भन्ने डर छ’, डा. भट्टराईले भन्नुभयो, ‘अब सत्य बोलेर हामीले यसलाई सच्याउनुपर्छ।’
बाबुरामले अहिले व्याख्यात्मक टिप्पणीको नाममा जनतालाई भ्रममा पार्नु नहुनेमा जोड दिनुभयो। उनले व्याख्यात्मक टिप्पणीको नाममा जानेर वा नजानेर सच्याउने प्रयास गरेको भन्दै यो कदमको स्वागत गर्नुभएको छ। ‘अहिले बुझेर वा नबुझेर सच्याउने प्रयास गर्नुभएको छ’, बाबुरामले भननुभयो, ‘यसको स्वागत गर्दछु।’ बाबुरामले देशको विकासका लागि सहायता ग्रहण गर्नुपर्ने कुरालाई सबैले सामान्य मान्नुपर्नेमा जोड दिनुभएको छ।
जनता समाजवादी पार्टीका सांसद् भट्टराईले एमसीसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको उल्लेख गर्नुभयो। सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सम्झौतालाई अनुमोदन गरिनुपर्ने उहाँको भनाइ छ। सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले अनुदान सम्झौताबारे कसैले पनि आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताउनुभयो।
भट्टराईले २०६६ सालदेखि पछाडिका सबै प्रधानमन्त्रीले एमसीसी सम्झौताको दायित्व लिनुपर्ने बताउनुभयो। ‘म प्रधानमन्त्री भएका बेला नेपालका लागि यो सम्झौता छनोट भएको जानकारी आएको हो, २०६६ सालपछिका आठ पूर्वप्रधानमन्त्रीका पालामा एमसीसी अगाडि बढाइएको थियो’, उहाँले भन्नुभयो, ‘हिजो अगाडि बढाउने अनि आज आएर चर्को स्वरमा विरोध गर्ने गर्नुहुँदैन। म नैतिक दायित्व लिन्छु।’
डा भट्टराईले एमसीसी सम्झौता सन् २०१७ मा गरिएको भए पनि पछि २०१९ गरिएको अर्को सम्झौताको भाषा हेर्दा आफूलाई पनि कताकता घोचेको बताउनुभयो।
‘सम्झौताका भाषा पनि अहिले घोच्ने नै छन्, अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सम्झौताका बुँदा राखिएको हुन्’, उहाँले भन्नुभयो, ‘ती कुराहरुलाई मत्थर गर्न पाएको भए हुन्थ्यो भन्ने मलाई पनि लाग्छ। हामी सबैले त्यसको दायित्व लिनुपर्छ।’
स्वीट्जरल्याण्डले विकासको ठीक बाटो समातेर मुलुकको विकास र स्वाधिनताको रक्षा गरेको जानकारी गराउँदै उहाँले भूराजनीतिलाई ध्यान दिँदै एमसीसी सम्झौतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो।
विकासका लागि बजार, श्रम, पूँजी र प्रविधि चाहिने भन्दै उहाँले नेपाललाई अहिले पूँजी र प्रविधि जरुरी रहेको बताउनुभयो।