एमसीसी सम्झौताको पक्षमा छु : लोसपा अध्यक्ष ठाकुर
काठमाडौं, फागुन १५ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफू अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा रहेको बताउनुभयो ।
आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिनुहुँदै लोसपा अध्यक्ष ठाकुरले सो कुरा बताउनुभएको हो । ‘म यो सम्झौताको पक्षमा छु । हाम्रो लोकतान्त्रिक समाजवादी पार्टी यो सम्झौताको पक्षमा छ ।’ उहाँले भन्नुभयो ।
अमेरिकाले नेपाललाई अहिलेमात्रै नभएर विगत सात दशकदेखि विकास साझेदारको रुपमा सहयोग गर्दै आएको समेत उहाँले बताउनुभयो । ‘अमेरिकाले नेपाललाई सात दशकभन्दा बढी समयदेखि विकास साझेदारको रुपमा सहयोग गर्दै आएको छ । राष्ट्रिय हितको या राष्ट्रिय जीवनको हरेक क्षेत्रमा उसको केही न केही सहयोग देखिन्छ । नेपालमा आर्थिक वृद्धिदर, गरिबी कम गर्ने उद्देश्य लिएर यो अनुदान आएको छ, जहाँसम्म यसको खर्च हुने क्षेत्र पनि निर्धारित छ, यो नेपालले नै निर्धारण गरेर आएको अनुदान हो ।’ उहाँले भन्नुभयो ।