मुख्य समाचार | राजनीति |

सभामुखमाथिको दुष्प्रचार खेदजनक छ : सचिवालय

काठमाडौं, फागुन १८ गते । सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सिर्जना गरिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ ।

जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाएर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै सचिवालयले ध्यानाकर्षण भएको जनाएको हो ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट सार्वजनिक गर्दै सचिवालयको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको हो ।

‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजिएको विषय स्पष्ट गर्न यो प्रेस नोट जारी गरिएको छ’, न्यौपानेले सार्वजनिक गर्नुभएको प्रेस नोटमा भनिएको छ, ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रेस नोटमा उहाँले बोलेको भनी प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षलाई चुनौतीसमेत दिइएको छ ।

भ्रममा नपर्न प्रेस नोटमा सबैलाई अनुरोधसमेत गरिएको छ । ‘आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं’, थप भनिएको छ ।