मुख्य समाचार | राजनीति |

राष्ट्रियसभा सदस्यको शपथ शनिबार बिहान ११ बजे

काठमाडौं, फागुन २० गते। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण शनिबार हुँदैछ। संघीय संसद्‍ सचिवालयले सूचना जारी गर्दै नवनिर्वाचित सदस्यको शपथ ग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो।

शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण समारोह हुँदैछ। गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित हुनुभएको छ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ।

रिक्त २० मध्ये १९ जना निर्वाचित हुनुभएको छ भने एक जनाको मनोनय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ।

नयाँ सदस्यको पदावधि छ वर्षको हुनेछ। अब हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभामा निर्वाचित र मनोनित सबै सदस्यको पदावधि छ वर्षको हुनेछ। एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ।

पहिलो पटक राष्ट्रियसभा सदस्यको पदावधि कायम गर्दा गोला प्रथाबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुनेछ।

राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट गरिन्छ । पहिलो बैठकदेखि सम्पूर्ण सदस्यको पदावधि प्रारम्भ भएको मानिनेछ ।

राष्ट्रिय सभाको रिक्त हुन आउने सदस्यको पूर्ति निर्वाचन वा मनोनयन जुन तरिकाले भएको थियो सोही तरिकाले बाँकी अवधिका लागि पूरा गरिनेछ।