मुख्य समाचार |

राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण


काठमाडौं, फागुन २१ गते । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले शनिबार शपथग्रहण गर्नुभएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराउनुभएको हो ।

साथै, अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसद्हरुलाई संघीय संसदको लोगो पनि प्रदान गर्नुभएको छ । राष्ट्रियसभाका १९ सदस्यका लागि गत माघ १२ गते निर्वाचन भएको थियो ।

निर्वाचनमा नेपाली काँग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित हुनुभएको थियो भने नेकपा (माओवादी केन्द्र)बाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित हुनुभएको थियो ।

यसैगरी, नेकपा (एमाले)बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।