मुख्य समाचार |

मरनीलाई साहसी महिला सम्मान

नागेन्द्रकुमार कर्ण

महोत्तरी, फागुन २४ गते। २० वर्षअघि बोक्सीको आरोपमा अमानवीय व्यवहार खेपेकी मरनी देवीलाई महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले साहसी महिलाको रुपमा सम्मान गरेको छ। मटिहानी नगरपालिकाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मंगलबार नगरपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रमको आयोजना गर्दै मरनी देवीलाई साहसी महिलाको रुपमा सम्मान गरेको हो।

नगरप्रमुख हरिप्रसाद मण्डलले दोसल्ला र ५० हजार रकमसहित मरनी देवीलाई सम्मान गर्नुहुदै बोक्सी प्रथा सामाजिक कलंकको रुपमा रहेकोले यसलाई निर्मूल गर्नुपर्नेमा जोड दिनुभयो।

नगरप्रमुख मण्डलले समाजमा पूर्नस्थापित भइसक्नुभएका मरनी देवीलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँले २० वर्ष अगाडि भएको घटना मटिहानी नगरपालिकाको लागि कलंकको रुपमा रहिरहने बताउनुभयो। घटनाको केही समयपछि मरनी फेरि सामाजिक कार्यमा लागिसक्नु भएकोमा सो कार्यको प्रशंसा गर्नुहुँदै उहाँले सोही कार्यको उच्च मूल्यांकन गर्दै साहसी महिलाको रुपमा सम्मान गरिएको स्पष्ट गर्नुभयो।

मरनी देवी बोक्सी आरोप खेपेको बेला आफू सक्रिय पत्रकारितामा रहेर सो बेलाको समाचार कभर गरेको सम्झना गर्नुहुँदै नगरप्रमुख मण्डलले भन्नुभयो, ‘अब महिलामा जनचेतना बढेको छ, जसको कारणले यी समस्या विस्तारै हटेर गएको छ।’

समाजमा अझै पनि शिक्षाको पहुँचको आवश्यकतालाई विचार गर्दै नगरपालिकाले महिला शिक्षामा जोड दिएको जानकारी दिनुहुँदै नगरप्रमुख मण्डलले जनचेतना र शिक्षाले यी यस्ता कुरीतिलाई पाखा लगाउन सकिने भएकोले यसमा सबैको सहयोग र सहकार्यको लागि नगरपालिका हरदम तयार रहेको बताउनुभयो।

२०५८ असार ३० गतेका दिन छारेरोगले छिमेकी निरसन साहका छोरोको मृत्यु हुँदा मरनीदेवीले टुनामुना गरेर मारेको आरोप लगाउँदै स्थानीयले उनलाई बेहोस हुने प्रसाद खुवाई बोक्सी आरोपमा कुटपिट गरेका थिए।

कार्यक्रममा बोल्नुहुँदै मरनी देवीले आफू पीडित भइसकेपछि देशमा बोक्सी प्रथाविरुद्ध कानुन बनेको बताउनुहुँदै घटनामा संलग्नलाई ढिलै भए पनि सजाय पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले अहिले बोक्सी प्रथाविरुद्ध जसरी समाचारमाध्यमले लेख्न, बोल्न थालेका छन् राम्रो र खुशीको कुरा भएको बताउनुहुदै भन्नुभयो, ‘शिक्षामा सुधार र जनचेतना जगाउने हो भने यो प्रथा निर्मूल गर्न सकिन्छ।’

कार्यक्रममा मटिहानी नगरपालिकाका उपप्रमुख शिवादेवी साह, प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्मा, कार्यपालिका सदस्य सुनकेसी चौधरी, सदस्य निर्मला देवी, नन्दनी कुमारी साह, ओरेक नेपालका लीला दियाली लगायतका वक्ताले महिला अधिकारबारे प्रकाश पार्नु भएको थियो। यसैबीच, जिल्लाको विभिन्न ठाउँमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ।