मुख्य समाचार | राजनीति |

राजनीतिमा महिला : कानुन बन्यो, कार्यान्वयन भएन

काठमाडौँ, फागुन, २४ गते। राजनीतिक दलका नेत्री तथा महिला अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिले राजनीतिमा महिला सहभागिताको लागि कानुन बने पनि कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ। मङ्गलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजधानीमा आयोजित राजनीतिक सहभागितामा महिलाको चुनौती र अबको बाटो विषयक कार्यक्रमका धारणा राख्ने नेतृहरुले यस्तो बताउनुभएको हो।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिला संविधान वा अन्य कानुनले दिएको कोटामा मात्र भर नपरी आफैं सक्षम छु भन्ने भावनाका साथ राजनीतिमा आउनुपर्ने बताउनुभयो। महिला आफै सचेत भएर राजनीति के हो र म यहाँ किन आउने भन्नेमा स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले संविधानले नै राजनीतिमा महिला सहभागिता सुनिश्चित गरे पनि नेतृत्व क्षमतामा प्रश्न उठाएको बताउनुभयो। महिलालाई नेतृत्वदायी भूमिकाबाट बञ्चित गरिएको उहाँको भनाइ छ। ‘राजनीतिमा महिला सहभागिताको लागि हामी अगाडि नै छौँ। तर, पुरुषको बाहुल्यता भएका कारण कानुनी व्यवस्था कार्यान्वयन हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘यसको लागि महिलाहरु एकजुट भएर संयुक्त अभियान सञ्चालन गर्नुपर्छ।’

पुरुषको तुलनामा समाजमा महिलाको धेरै जिम्मेवारी भए पनि पुरुषसँग प्रतिस्पर्धा गरेर राजनीतिमा आउन सक्नु महिलाको क्षमता भएको उहाँले बताउनुभयो। ‘महिलाहरु राजनीतिक नेतृत्वका लागि सक्षम हुनुहुन्छ। यो कुराको पुष्टि यसअघिको चुनावी परिणामले गरिसकेको छ’, देउवाले भन्नुभयो, ‘अब आउने चुनावमा उहाँहरुको प्रतिनिधित्व अझै सुनिश्चित गर्न सबै दलका महिला नेत्रीले आवाज उठाउनुपर्छ।’

नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलालाई जिम्मेवारी दिइयो भने हरेक प्रकारको जिम्मेवारीमा रहेर काम गर्न सक्ने बताउनुभयो। ‘विभिन्न सामाजिक परिवेशका कारण उहाँहरुमा कुनै न कुनै कमजोरी हुनसक्छ। यस्तो बेलामा उहाँहरुलाई प्रशिक्षण दिने, सूचनाको पहुँचमा राख्नेलगायतका गतिविधि गर्नुपर्छ’, उहाँले भन्नुभयो। आफ्नो राजनीतिक भविष्य कसरी सुनिश्चित गर्ने भन्ने विषयमा महिला पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ।