घोषणापत्रको मस्यौदामाथि एमाले प्रारम्भिक छलफलमा
काठमाडौं, चैत २ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय तहको चुनावको तयारीमा जुटेको छ। एमालेले चुनावी घोषणापत्रको मस्यौदा बनाउन बुधबारदेखि प्रारम्भिक छलफल सुरु गरेको हो।
पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले घोषणापत्रको प्रारम्भिक छलफल सुरु भएको बताउनुभयो। छलफलमा बुद्धिजीवी परिषद्का सदस्य, स्थानीय सरकार सञ्चालन गर्ने सङ्घका प्रमुख, नीति अनुशासन प्रतिष्ठानका सदस्य सहभागी हुनुहुन्छ। छलफल महाराजगञ्जको एक होटलमा भएको हो।
घोषणापत्रको प्रारम्भिक छलफलमा महिला प्रतिनिधिसमेत सहभागी हुनुहुन्छ। ‘प्रारम्भिक छलफलमा पार्टीमा विगतमा कस्तो काम गरियो, आगामी दिनमा कस्ता कुरा गर्नु उपयुक्त हुन्छ भन्ने विषयमा छलफल भएको छ’, अधिकारीले भन्नुभयो। अहिले देखिएका कमी–कमजोरी सच्याउनुपर्ने र आगामी कार्ययोजना कस्तो बनाउने भन्ने विषयमा छलफल भएको उहाँको भनाइ छ।
खासगरी, स्थानीय चुनावमा गरिब, महिला र पीडित जनताको बीचमा कसरी जाने भन्ने विषयमा छलफल सुरु भएको उहाँले बताउनुभयो। एमालेले घोषणापत्रको विषयमा गरेको छलफल अागामी दिनमा समेत गर्नेछ।