मुख्य समाचार |

प्रधानमन्त्रीद्वारा खिम्ती सबस्टेसन उद्घाटन

काठमाडौं, चैत ५ गते । २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले निर्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालन भएको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत जडान हुने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट यस नयाँ खिम्ती सबस्टेशन जडान भइसकेको छ ।

माथिल्लो तामाकोशीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२ दशमलव चार मेगावाट क्षमताको लिखु चौथो र २४ दशमलव दुई मेगावाट क्षमताको लिखू खोला ’ए’ बाट उत्पादित विद्युत सबस्टेसनमा जोडिएको छ ।

त्यस्तै, यस सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।

नयाँ खिम्ती सबस्टेसनबाट ४६ किमि लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघूस्थित १३२ केभी सबस्टेसन हुँदै काठमाडौं उपत्यका नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ । नयाँ खिम्ति सबस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर वे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर वे रहेको प्राधिकरणले जनाएको छ ।

साथै सबस्टेसनमा २२०/१३२ केभी, ३३ दशमलव ३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सवस्टेसन क्षेत्रमा हाल करिब ५५ रोपनीमा २२०÷१३२ केभी नयाँ खिम्ती सवस्टेसन निर्माण भएको छ । अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धी प्राप्त भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

घिसिङले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट, र दक्षता प्राप्त भएको उल्लेख गर्नुभयो । दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत प्रसारण प्रणालीलाई ठूलो मद्दत पु¥याइरहको छ ।

वार्षिक दुई अर्ब २८ करोड युनिट विद्युत उत्पादन हुने आयोजनाले दोश्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दै छ । रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुख्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत ऊर्जा थप प्राधिकरणले जनाएको छ ।

उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रति युनिट औसत ४ दशमलव ०६ रुपियाँ विद्युत खरीद बिक्री दर रहेको छ । यसबाट आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनुको साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा प्राधिकरणले गरेको जनाएको छ ।

माथिल्लो तामाकोसीको सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङले बताउनुभयो । उहाँले भन्नुभयोर्, पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको खरिद दर यस हिउँदमा नेपाली रूपैयाँ ३२ प्रति युनिटसम्म पुगेको अवस्थामा तामाकोशीको विद्युत खरिद दर यो साल अधिकतम नेपाली रूपियाँ ६ दशमलव ९६ मात्र रहेकोले देशको ठूलो धनराशी विदेश जानबाट रोकिएको छ ।’