मुख्य समाचार | खुला |

योजना आयोगका उपाध्यक्ष डा.झा महामूर्ख घोषित

लक्ष्मी चौधरी
जनकपुरधाम, चैत ५ गते। मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा महामूर्ख घोषित हुनुभएको छ।

प्रत्येक वर्ष जनकपुरधाममा मनाइने होली विशेष कार्यक्रम ‘महामूर्ख सम्मेल’ मा विभिन्न व्यक्तिलाई मूर्ख तथा महामूर्ख घोषित गर्दै आइएको छ। यो वर्ष नीति तथा योजना आयोगका उपाध्यक्ष डा. झालाई महामूर्ख घोषण गरिएको हो।

मधेसको राजधानी जनकपुरधाममा शुक्रबार मिथिला नाट्यकला परिषद्द्वारा आयोजित दुई दिने होली विशेष कार्यक्रम अन्तर्गत महामूर्ख सम्मेलन २०७८ को महामूर्खको उपाधि नीति तथा योजना आयोगका उपाध्यक्ष डा. झालाई प्रदान गरिएको हो।

हरेक वर्ष आयोजना हुने होली महोत्सव तथा महामूर्ख सम्मेलनमा १० जनादेखि १७ जनासम्मलाई मूर्खको उपाधि प्रदान गरिन्छ। मूर्ख तथा महामूर्खका लागि छनोट गरिकामध्ये ११ जनाले मूर्ख तथा एक जनाले महामूर्खको उपाधि पाउनुहुन्छ। मूर्ख तथा महामूर्खलाई सम्मान पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला तथा दोसल्ला ओढाएर सम्मानित गरिन्छ।

दुई दिवसीय महोत्सवमा धनुषा र महोत्तरीका विभिन्न गाउँबाट सहभागी भएका १० वटा डम्फा समूहहरूबीच होरी गायन, डम्फा बादन तथा जोगिरा गायनको प्रतिस्पर्धा भएको थियो। प्रतियोगितमा उत्कृष्ट तीन समूहलाई पुरस्कार तथा अन्य समूहलाई प्रशंसापत्र प्रदान गरिएको छ।