प्रधानमन्त्री देउवालाई चिनियाँ विदेशमन्त्री वाङले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नुहुने
कास्की, चैत १२ गते । तीनदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ विदेशमन्त्री वाङ यीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण–क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीका अनुसार शनिबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ विदेशमन्त्री वाङले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नुहुनेछ ।
सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नुहुने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । मुख्य निर्माणकार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो ।
चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ तीनदिने भ्रमणका लागि शुक्रबार साँझ पौने ५ बजे काठमाडौं आइपुग्नुभएको थियो ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ ।विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल(एटिसी) भवनलगायत विभिन्न १४ भवन, ट्याक्सी वेलगायत मुख्य काम सकिएका छन् ।
विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको बताउनुभयो । सरकारले यसै वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
उहाँले भन्नुभयो, “रनवे, टर्मिनल भवन, यान्त्रिक उपकरण जडान, लाइटलगायत मुख्य काम सबै सकिएको छ । फेन्सिङ, प्यासेन्जर बडी बिल्ड र नालाको केही सामान्य काम मात्र बाँकी छ । यसका लागि अब धेरै समय लाग्दैन ।” निर्माण कम्पनीसँगको सम्झौताअनुसारका आयोजनाका मुख्य काम सकिएपनि विमानस्थल सञ्चालनका लागि पूर्णरुपमा तयार हुन अझै काम बाँकी नै छन् । आयोजनाका अनुसार नेपाली पक्षले गर्नुपर्ने ‘ल्याण्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’को काम अझै सुरु हुनसकेको छैन । बाँकी कामका लागि कागजी प्रक्रिया अघि बढे पनि स्वीकृत हुन बाँकी छ ।
डाँडा कटानका लागि मन्त्रीपरिषद्ले पूरक प्रतिवेदन पेश गर्ने र वनसँग सम्झौता गर्ने गरी दुई पूर्व शर्तसहित यसअघि नै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो । पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको र स्वीकृतिको चरणमा रहेको अधिकृत फुयाँलले बताउनुभयो । विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ)का मापदण्डअनुसार सो डाँडा ४० प्रतिशत कटान गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।
पर्यटकीय सहरका रुपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य सहरसँग सिधा सम्पर्क कायम गर्न चार दशकअघि नै विमानस्थल बनाउने योजना अघि सारिएको थियो । लामो समयअघिको योजना विसं २०७४ मा आएर मात्र काम सुरु भएको हो ।
सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहे पनि कोरोना सङ्क्रमणका कारण विमानस्थलको काम रोकिएकाले गत वर्ष थप एक वर्ष म्याद थपिएको थियो ।
निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । यसका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो ।
त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण(क्यान)बीच सहुलियत ऋण सम्झौता भएको थियो ।
चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेब्रुअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चिता भएपछि निर्माण कार्य अघि बढाइएको थियो ।
इपिसि (इन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेशन (आइकाओ) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गरिएको हो । यस विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सकिनेछ ।
साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका–१४ मा विसं २०३२ मा पहिलोपटक विमानस्थलका लागि तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसपछि विसं ०७१/०७२ मा थप ५२१ मध्येमा ५१५ रोपनी जमिन तथा ३५ घर टहरा अधिग्रहण गरिएको थियो । पछिल्लो पटक ‘आउटर पेरिफेरी रोड’का लागि भनेर पुनः ५९ रोपनी जमिन तथा ३४ घरटहरा अधिग्रहण गरिएको थियो ।