मुख्य समाचार | राजनीति |

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं, चैत १३ गते। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ। एमालेको पोलिट्ब्यूरो, केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयको कार्यान्वयन सम्बन्धमा स्थायी कमिटी बैठकमा छलफल हुँदैछ।

चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटमा भएको कुराकानीबारे ब्रिफिङ गर्नुहुँदै पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठक प्रारम्भ गर्नुभएको हो। पार्टीको तर्फबाट विदेशमन्त्री वाङसँग चीन र नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतालगायत विषयमा कुराकानी भएको उहाँको भनाइ छ।

चीनले नेपालको विकासमा सहयोगीको भूमिका खेल्दै आएको र आगामी दिनमा विकास साझेदारीको रुपमा भूमिका खेल्ने विषयमा छलफल भएको उहाँले प्रष्ट पार्नुभयो। त्यसैगरी बैठकको सुरुमा अध्यक्ष ओलीले स्थानीय निर्वाचन, मतपत्र र समसामयिक विषयमा धारणा राख्नुभएको छ।

बैठकले चुनावी घोषणापत्रको तयारी, पार्टी सञ्चालनका नियमावली पारित गर्ने विषयमा छलफल गर्दैछ। एमाले केन्द्रीय कमिटीको फागुन ९ र १० गतेको बैठकमा प्रस्तुत राजनीतिक र सांगठानिक प्रतिवेदन एवम् स्थानीय तहको उम्मेदवारको मापदण्ड तोक्ने विषयमा भएका निर्णयलाई स्थायी कमिटीले स्वीकृत गर्नेछ।