पहरो खोपेर बुद्धको मूर्ति बनाइँदै
शेरबहादुर राई
ओखलढुङ्गा, चैत १४ गते । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको अनुहार र टाउको बनाउने काम अन्तिम चरणमा पु-याएका छन् । नागी सानोभीर पहरेपाखा सामुदायिक वन क्षेत्रमा पर्ने यो विशाल पहराको नाम नागीभीर हो ।
मूलखर्कमा जन्मिनुभएका ३१ वर्षीय युवा मनकुमार तामाङको व्यक्तिगत लगानी र योजनामा अनकन्टार नागीभीरको पहारामा बुद्धको मूर्ति बनाउने काम थालिएको छ । पहारामा २७ फिट अग्लो बुद्धको मूर्ति बनाउन होटेल व्यवसायी तामाङको व्यक्तिगत ३७ लाख रुपियाँ र अन्य दुई जना स्थानीयको दुई लाख रुपियाँ गरी ३९ लाख रुपियाँ खर्च भइसकेको छ । बुद्धको शिर कुँद्ने काम अन्तिम चरणमा पुगेको छ ।
१२८ फिट अग्लो चट्टानमा मूर्ति कुँद्नका लागि करिब १० लाख रुपियाँमा एक हजार सात सयवटा बाँसको खट बनाइएको छ । सुरुमा ११२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गर्ने योजना गरिएको भए पनि खर्च अभावले हाल शिर मात्र बनाइने तामाङले जानकारी दिनुभयो ।
मूर्ति कुँद्नका लागि काठमाडौँ दक्षिणकालीका मूर्तिकार सुकुराम दिम्दोङ तामाङको नेतृत्वमा गोदावरीका सहित चार जना कालीगढ खटिएका छन् । एक वर्षअघि काम सुरु गरिए पनि कोभिड–१९ का कारण केही समय रोकिएको थियो । निर्माणकर्ता मनकुमारले आगामी बुद्धजयन्तीमा बुद्ध मूर्तिको अनावरण गर्ने योजना रहेको बताउनुभयो ।
छ वर्षको उमेरमा मनकुमारले बुबासँगै गाउँ छाडेर काठमाडौँ जानुभएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष डेनमार्क जानुभयो । उहाँले २५ वर्षपछि गाउँ फर्किएपछि गाउँ नजिकै ढुङ्गाको पहरामा बुद्धको मूर्ति बनाउने सोच आएको बताउनुभयो । “गाउँमा आउँदा उक्त पहारामा बुद्धको आकृति देखिने हल्ला भएको रहेछ”, उहाँले भन्नुभयो, “त्यही पहारामा बुद्धको मूर्ति बनाउने योजना बनाएँ ।”
सामाजिक सञ्जालमा चीनको कुनै ठाउँमा ढुङ्गाको पहरामा बुद्धको शिरको मूर्ति देखेपछि झन् मूर्ति बनाउने इच्छा बढेर आएको बताउँदै उहाँले १० लाख रुपियाँमा निर्माण सकिने योजना बनाएको तर खर्च बढ्दै गएको सुनाउनुभयो । धेरै आफन्तले सहयोग गर्ने बताए पनि काम सुरु गरेपछि सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।
“पुर्खाको सम्झनासँगै मेरो गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै मूलखर्कलाई चिनाउनु छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि लाखौँ रकम लगानी गरिरहेको छु । म गाउँमा फर्केर कुनै व्यवसाय नगरे पनि पर्यटन व्यवसायसम्बन्धी काम गर्न इच्छुक स्थानीय युवाका लागि सम्भावना बन्नेछ । ” उहाँले पहरालाई कुँदेर बुद्धको मूर्ति बनाइएको नेपालकै यो पहिलो हुनसक्ने दाबी गर्नुभयो ।
वडाध्यक्ष गोविन्दराम तामाङले मनकुमारको कामले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने आशा गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले पहरामा कँुदिएको मूर्तिले सुनकोसी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा मुख्य भूमिका निर्वाह गर्ने भएकाले यसको व्यवस्थापन र प्रचार प्रसारमा जोड दिने योजना रहेको बताउनुभयो । बुद्धको मूर्ति बनाइएको ठाउँमा पुग्न काठमाडौँदेखि गाडीमा पाँच घण्टा र ओखलढुङ्गा सदरमुकामदेखि दुई घण्टामा पुग्न सकिन्छ ।