एकीकृत सहरी विकास योजना निर्माण गर्नमा जोड
धर्बेन्द्र झा
धनुषा, चैत १७ गते। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आधुनिक सहर निर्माणका लागि एकीकृत सहरी विकास योजना निर्माण हुनु पर्नेमा जोड दिनुभएको छ। संघीय सहरी विकास मन्त्रालयले बिहीबार जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय सहरी नीति र सहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरामा जोड दिनुभएको हो।
जथाभावी भौतिक संरचना निर्माणले सहर कुरुप बन्दै गएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले व्यवस्थित सहरी विकासका लागि संघ सरकारलाई प्रत्येक प्रदेशमा एकीकृत विकास प्राधिकरण स्थापना गर्न आग्रहसमेत गर्नुभयो। स–साना योजनाले विकास भन्दा पनि सहरलाई कुरुप र अव्यवस्थित बनाउदै गएको हुँदा त्यस्ता योजनालाई तत्काल रोक्नुपर्ने उहाँको भनाइ छ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशका विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखले निर्माणाधीन नयाँ नीतिमा आ–आफनो सुझाव राख्नु भएको थियो। सहरी विकास मन्त्री झाँक्रीले छलफलको क्रममा आएका सुझावलाई समेटेर राष्ट्रिय सहरी नीति र सहरी विकास ऐन निमार्ण हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।